काठमाडौ- उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ। मंगलबार एक हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको उसले जनाएको छ।
यो मिसाइलको नाम हसन्ग-८ बताइएको बीबीसीले जनाएको छ। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले मिसाइल पञ्चवर्षीय सैन्य योजनाको नयाँ हतियार प्रणालीको रुपमा बनेको “पाँच सबैभन्दा महत्वपूर्ण हतियार” मध्ये एक भएको र नयाँ मिसाइल “रणनीतिक हतियार” भएको जनाएको छ।
नयाँ मिसाइल परीक्षणबाट कडा प्रतिबन्धका बावजुद उत्तर कोरिया लगातार आफ्नो हतियारको प्रविधि विकासमा लागेको देखिएको छ।
यस महिनामा मात्र उत्तर कोरियाले तीन मिसाइल परीक्षण गरेको छ।
यस अघि उसले नयाँ खालको एक क्रुज र ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो।
यस वर्ष जनवरीमा भएको सेनाको बैठकमा शासक किम जोङ उनले वैज्ञानिकले हाइपरसोनिक हतियार विकसित गरेको जनाएका थिए। उत्तर कोरियाले हालसालै मिसाइल परीक्षण भन्दा एक दिन पहिला दक्षिण कोरियासँग वार्ताको इच्छा व्यक्त गरेको थियो।
अमेरिकी सेनाले एक विज्ञप्तिमा आफूहरुलाई यस मिसाइलको बारेमा जानकारी भएको तर यसले अमेरिका र आफ्ना सहयोगीहरुका लागि तत्कालका लागि कुनै खतरा नभएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।