नयाँ दिल्ली– विद्यार्थी आन्दोलनबाट भारतमा मूलधारको राजनीतिमा 'कम्युनिस्ट नेता'को पहिचान बनाएका कन्हैया कुमार भारतीय राष्ट्रिय कांग्रेसमा सामेल भएका छन्।
कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको उपस्थितमा दिल्लीस्थित पार्टी मुख्यालयमा कन्हैयालाई कांग्रेसमा स्वागत गरियो। कन्हैया सन् २०१९ को लोकसभा चुनावमा कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई)बाट बिहारको बेगुसरायमा उम्मेदवार बनेका थिए।
कांग्रेसको सदस्यता लिएपछि कन्हैयाले देशलाई बचाउनका लागि यो पार्टीमा सामेल भएको बताए। कांग्रेसले मात्रै महात्मा गान्धी र भगत सिंहको सपना बचाउन सक्ने पनि उनले दाबी गरे।
उनले भने, 'तपाईं आफ्नो दुश्मनको चुनाव गर्नुहोस्, दोस्त (मित्र) आफैं बन्नेछन्। मैले देशको सबैभन्दा लोकतान्त्रिक पार्टीमा यसकारण सामिल हुन चाहे कि यदि कांग्रेस नै बचेन भने देश बच्ने छैन।'
कांग्रेस नेताहरुले कन्हैयाको प्रवेशपछि पार्टी अझै बलियो हुने प्रतिक्रिया दिएका छन्।
सीपीआईका नेताहरुले भने कन्हैयालाई 'अवसरवादी'को संज्ञा दिएका छन्। सीपीआईका वरिष्ठ नेता अतुल कुमार अंजानले 'संसदमा पुग्ने हतारो'का कारण कन्हैयाले कांग्रेस रोजेको प्रतिक्रिया दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।