संयुक्त राष्ट्रसंघ- रुसी विदेशमन्त्री सेरगेई लाभरोभले अफगानिस्तानका तालिबानहरुसँगको सहकार्यबिना उनीहरुलाई राजनीतिक प्रक्रियामा ल्याउन सम्भव नभएको बताएका छन्।
संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन हाल न्युयोर्क रहेका विदेशमन्त्री लाभरोभले शनिबार यहाँ पत्रकार सम्मेलनका क्रममा अफगानिस्तानलाई पनि राजनीति प्रक्रियामा ल्याउनुपर्ने खाँचो औँल्याए।
त्यसैले यस प्रक्रियाका लागि अफगानिस्तानमा हाल सत्तामा रहेका तालिबानहरुसँग सहकार्य गर्नुपर्ने र उनीहरुलाई शान्ति र अफगानिस्तानको स्थायित्वका लागि सहयोग पनि गर्नुपर्ने उनले बताए। उनले हाल अफगानिस्तानको अवस्था नाजुक रहेकाले सहयोग गर्न सबै विश्व समुदाय लाग्नुपर्नेमा पनि जोड दिएको प्राप्त समाचारमा जनाइएको छ।
यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदायसँग आग्रह गरेका थिए। पाकिस्तानका प्रधानमन्त्री खानले पनि सयुक्त राष्ट्रसंघको ७६औं महासभालाई शनिबार सम्बोधन गर्दै अफगानिस्तानलाई सहयोग गर्न सयुक्त राष्ट्रसंघमार्फत् विश्व समुदाय समक्ष आग्रह गरेका थिए।
उनले अहिले अफगानिस्तानको अवस्था निकै गम्भीर भइसकेको भन्दै यस देश र यहाँका जनतालाई सहयोग गर्न विश्व समुदाय पछि पर्न नहुने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।