इस्लामावाद- अफगानिस्तानलाई सहयोग गर्नेगरी संयुक्त राष्ट्रसंघले सबैलाई परिचालन गर्न पाकिस्तानले माग गरेको छ।
राष्ट्रसंघको ७६औँ महासभालाई सम्वोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार यस्तो माग गरेका हुन्।
अफगानिस्तनमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेर सरकार बनाएपछि विभिन्न सङ्कट उत्पन्न भए पनि धेरै देशले सहयोग नगरेकाले राष्ट्रसंघले सबैलाई परिचालन गर्नुपर्नेमा खानले जोड दिएका थिए।
प्रधानमन्त्री खानले विशेषगरी आर्थिक सहयोग अफगानिस्तानका लागि अत्यावश्यक भइसकेकाले राष्ट्रसंघले अन्तर्राष्ट्रिय समुदायलाई परिचालन गर्नुपर्ने धारणा राखेका थिए।
'अफगानिस्तानलाई सहयोग गर्न विश्वसँग समय छैन, धेरै ढिला भइसकेको छ, त्यहाँ गम्भीर सङ्कट उत्पन्न भएको छ, म सबैको ध्यानाकर्षण गराउन चाहन्छु,' प्रधानमन्त्री खानले भने।
मानवीय सहायत उपलब्ध गराउन अझै ढिला गरेमा विश्वलाई नै लज्जित गराउनेगरी नराम्रो क्षति हुने चेतावनीसमेत उनले दिए।
उनको सम्बोधनपछि पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा अफगानिस्तान र अफगानी जनताका बारेमा बेवास्ता गर्न नहुनेमा खानले जोड दिएको उल्लेख गरिएको छ।
'हामीले उनीहरुलाई सहयोग गर्न हेलचक्राइँ गर्यौं भने अहिले नै आधा मानिस गरिबीको रेखामुनी छन्, अर्को वर्षसम्ममा ९० प्रतिशत मानिस गरिब हुन्छन्,' प्रधानमन्त्री खानले भनेका छन्।
अहिले पनि भोकमरी सुरु भइरहेको र तत्काल सहयोग नगरेमा भोकमरीको महामारी नै चल्ने भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।
अफगानिस्तानको डरलाग्दो र दयालाग्दो अवस्थाका बारेमा छिमेकी र विश्व समुदायले कुनै चासो नदिएकोमा आफूलाई दुखित र अचम्मित बनाएको उनको भनाइ छ।
अफगानिस्तानमा उत्पन्न सङ्कट छिमेकी देशका रुपमा पाकिस्तानको चासो र चिन्ताको मात्रै नभइ विश्वकै चासो र चिन्ताको विषय भएको भन्दै उनले सबैको ध्यानाकर्षण गराएका छन्।
'सैन्य शक्तिमार्फत् समस्याको समाधान गर्न खोजियो, त्यो गलत थियो र असफल पनि भयो, अब पनि त्यस्तो गल्ती नहोस्, शान्तिपूर्णरुपमा समस्याको समाधान खोजौँ, सङ्कट निवारण गरौँ, अत्यावश्यक सहयोग उपलब्ध गराउन ढिला नगरौँ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।