काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले हिमाली जिल्लामा दशैं अगाडि नै अधिवेशन गर्न सकिन्छ भने अन्यमा पनि हुनसक्ने बताएका छन्।
महाधिवेशन पर सार्ने गरि शीर्ष नेतृत्व अघि बढेको उनले आशंका व्यक्त गरे। ‘क्रियाशील सदस्यता सार्वजनिक भएर वडा अधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नु पर्नाको कारण के हो? सँगैको जिल्लामा गर्ने छिमेकी जिल्लामा नगर्ने भन्ने पनि हुन्छ?’ कोइरालाले भने।
पदाधिकारी बैठकमा केन्द्रीय महाधिवेशनको मिति सार्ने बिषयले प्रवेश पाएको सुनिएको उनले बताए। महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीलाई नहुने उनको जिकिर छ।
महाधिवेशनको कार्यतालिका परिवर्तन हुने गरी भएका निर्णय मान्य नहुने पनि उनले बताए। सामाजिक सञ्जालमा आफ्नो धारणा राख्ने क्रममा कोइरालाले भने,‘पदाधिकारीहरुले कांग्रेसलाई कहाँ पुर्याउन खोजेको? कतै पदाधिकारी र पुर्व पदाधिकारीहरुले नै महाधिवेशन नचाहेको त होइन? आशंका पैदा भएको छ। यो निर्णय सच्चिनु जरुरी छ।’
क्रियाशील सदस्यता बिवाद भनिएका १३ जिल्लाको समस्या समाधान नहुनुको कारण समेत उनले माग गरेका छन्। १३ जिल्लाको क्रियाशील सदस्यताको टुंगो नलाग्नु र अधिवेशन प्रक्रिया सुरु नहुनुको 'रहस्य'भित्र धाँधली गर्ने नियत लुकेको उनको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।