काठमाडौं- चीनविरुद्ध अमेरिका, बेलायत र अस्ट्रेलिया एक ठाउँमा उभिएका छन्। त्यसका लागि उनीहरुले एक विशेष सुरक्षा समझौताको घोषणा गरेका छन्।
यो सम्झौता आधुनिक प्रविधीको साझेदारीसँग सम्बन्धित रहेको बीबीसीले जनाएको छ।
यो साझेदारीबाट अस्ट्रेलिया पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पान्डुब्बिको निर्माण गर्न सक्षम हुने जनाइएको छ। यस समझौतालाई ‘अकस' नाम दिएको छ।
सम्झौतामा आर्टिफिशियल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबर साझेदारी पनि रहेकोछ। हिन्द-प्रशान्त महासागर क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिलाई लिएर तीन देश चिन्तित रहेको बीबीसीले उल्लेख गरेको छ। सम्झौताको परिणामस्वरूप अस्ट्रेलियाले फ्रान्सेली डिजाइनको पान्डुब्बिको निर्माणका लागि गरिएको एक सम्झौतालाई रद्द गरिदिएको छ।
अस्ट्रेलियाली नौसेनाका लागि १२ पान्डुब्बि निर्माणका लागि सन् २०१६ मा फ्रान्ससँग सम्झौता भएको थियो। यसको लागत करीब ५० बिलियन अस्ट्रेलियाली डलर थियो। यो सम्झौता अस्ट्रेलियाको अहिलेसम्मको सबैभन्दा ठूलो रक्षा अनुबन्ध थियो।
बुधबार अमेरिकी राष्ट्रपति जो वाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मेरिसनले अकस सुरक्षा समझौताको रुपमा एक संयुक्त विज्ञप्ति जारी गरे। "अकसको माध्यममा पहिलो पहलको रूपमा हामी अस्ट्रेलियाली नौसेनाका लागि परमाणु ऊर्जाबाट सञ्चालन हुने पान्डुब्बिको निर्माण गर्नका लागि प्रतिबद्ध छौं।"
"यसले हिन्द-प्रशान्त क्षेत्रमा स्थिरतालाई बढाउन सहयोग मिल्नेछ र यो हाम्रो साझा मूल्य र हितको समर्थनमा तैनाथ हुनेछ" विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।