काठमाडौं- तालिबानका सह–संस्थापक तथा उपप्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरादर टाइम म्यागेजिनले बर्सेनि प्रकाशित गर्ने विश्वका प्रमुख १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन्।
टाइम म्यागजिनले बुधबार २०२१ का १०० सबैभन्दा प्रभावशाली व्यक्तिको वार्षिक सूची जारी गरेको हो। उक्त सूचीमा उनको नाम पनि समावेश गरिएको हो। बरादर ती चारजनामध्येका एक हुन् जसले सन् १९९४ मा तालिबानको गठन गरेका थिए।
२००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाइदिएपश्चात् उनी विदेशी सैन्य फौजविरुद्धको विद्रोहका एक प्रमुख नाइके बनेका थिए।
२०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका बेला उनलाई कराची सहरबाट पक्राउ गरिएको थियो।
त्यतिखेर अफगानिस्तान सरकारले शान्ति वार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी मुक्त गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उनको नाम प्रमुख रूपमा हुने गर्थ्यो।
उनलाई २०१३ मा पाकिस्तानी सरकारले रिहा गरेको थियो। उनी तालिबानका पूर्व प्रमुख नेता मुल्लाह ओमारद्वारा सबभन्दा भरोसा गरिएका र उनका निकट सहयोगी थिए। पक्राउ पर्दा उनी तालिबानका दोस्रो सबभन्दा ठूला नेता थिए।
२०१८ मा कतारमा अमेरिकासँग कुराकानी गर्न तालिबानको कार्यालय खुल्दा त्यहाँ तालिबानको राजनीतिक प्रमुखका रूपमा उनलाई खटाइयो। उनले सधैँ अमेरिकासँगको वार्ताको समर्थन गरिरहे। उनी दुर्रानी समुदायका भएका ठानिन्छ।
प्रमुख १०० प्रभावशाली व्यक्तिको सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र सीरम इन्स्टिच्युट अफ इन्डियाका सीईओ अदार पूनावाला पनि परेका छन्।
यस सूचीमा अमेरिकी राष्ट्रपति जो वाइडेन, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती राजकुमार ह्यारी पनि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।