काठमाडौं- उत्तर कोरियाले लामो दूरीमा हान्न सकिने मिसाइल परीक्षण गरेपछि जापान, अमेरिका र दक्षिण कोरियाले छलफल गरेका छन्।
तीन देशका शीर्ष परमाणु दूतहरुले उत्तर कोरियाको मिसाइल तथा परमाणु कार्यक्रमलाई कसरी रोक लगाउने भन्ने विषयमा छलफल गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।
सोमबार उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले लामौ दूरीको क्रुज मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको थियो। विश्लेषकहरुले परमाणु क्षमतासहित उत्तरको यो पहिलो यस्तो हतियार हुन सक्ने बताएका थिए।
'डीपीआरकेमा हालसालै भएको घटनाक्रमपछिको संवादले तीन देशबीचको सम्बन्धलाई देखाउँछ' उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत संग किमले भने।
तीन देशले अन्तर्राष्ट्रिय प्रतिबन्ध रहेको उत्तर कोरियाको परमाणु हतियार र मिसाइल कार्यक्रममाथिको गतिरोध तोड्ने तरिकामाथि चर्चा गरेका थिए।
आफ्ना जापानी समकक्षी ताकेहिरो फुनाकोशी र दक्षिण कोरियाली समकक्षी नोह क्यू-डुकसँग को बैठकमा किमले वाशिंगटन उत्तर कोरियाको मुद्दासँग लड्नका लागि कुटनीतिक संवादका लागि खुला रहेको बताए।
व्हाइट हाउसले हालसालै मिसाइल परीक्षणका बावजूद प्योङयाङका साथ कुराकानीका लागि तयार रहेको बताएको छ। तर राष्ट्रपति जो बाइडेन प्रशासनले प्रतिबन्धलाई कमजोर बनाउने वा हटाउनेबारे कुनै इच्छा नदेखाएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।