काठमाडौैं– फ्रान्सका विदेशमन्त्री ज्या य्वेस ले ड्रियानले तालिबानको नयाँ सरकारलाई मान्यता नदिने बताएका छन्।
तालिबानले झुठ बोलेको भन्दै तालिबानी सत्तालाई फ्रान्सले मान्यता नदिने उनको भनाइ छ। उनले फ्रान्सले तालिबान सरकारलाई मान्यता नदिने र कुनै सम्बन्ध पनि नराख्ने एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा स्पष्ट पारेका हुन्।
तालिबानले सहायता पाउन र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्न केही कदम चाल्नु आवश्यक रहेको पनि उनको भनाइ थियो। ‘उनीहरुले विदेशी र केही अफगान नागरिकलाई स्वेच्छाले देश छाड्न दिने र समावेशी सरकार बनाउने बताएका थिए,’ उनले अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘यो झुठ साबित भएको छ।’
फ्रान्सले अफगानिस्तानबाट करिब ३ हजार मानिसलाई सुरक्षित फिर्ता लगेको थियो। उनले अफगानिस्तानमा अझै पनि केही फ्रान्सेली नागरिक र फ्रान्ससँग जोडिएका अफगान नागरिक रहेको उल्लेख गरेका छन्।
यसैबीच, आइतबार कतारमा अफगानिस्तानबाट थप मानिसहरु बाहिर निकाल्ने विषयमा छलफल हुँदै छ। यसमा फ्रान्स पनि सहभागी हुने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।