काठमाडौं- लामो समयदेखि जेल जीवन बिताइरहेका पेरुका विद्रोही नेता गोञ्जालोको निधन भएको छ।
गोञ्जालोको ८६ वर्षको उमेरमा शनिबार बिहान ६ः४० मा एक सैनिक अस्पतालमा निधन भएको हो। बिरामी भएका उनलाई थप उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको पेरु सरकारका अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ।
गोञ्जालो पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष हुन्। उनको वास्तविक नाम रुबेन एबिमाएल गुजम्यान रेयनोसो हो। उनलाई कम्युनिष्ट आन्दोलनमा ‘चेयरम्यान गोञ्जालो’ भनेर सम्बोधन गरिन्थ्यो।
उनको जन्म ३ डिसेम्बेर १९३४ मा भएको थियो। उनका बाबु धनी व्यापारी थिए। तर, उनी पाँच वर्षको हुँदै उनको आमाको निधन भएको थियो। त्यसपछि उनलाई आमाको परिवारले नै हुर्काएका थिए। उनी १३ वर्षको हुँदा फेरि बाबुसँगै गएका थिए। कम्युनिष्ट आन्दोलनमा लाग्नुअघि उनी दर्शनशास्त्रका प्राध्यापक थिए।
उनले पेरूका तत्कालिन राष्ट्रपति अल्बर्टो फुजीमोरी शासनकाविरूद्ध सन् १९८० देखि १९९९ सम्म चलेको सशस्त्र विद्रोहको नेतृत्व गरेका थिए। माओवादी दर्शनको पक्षपाती साइनिङ पाथलाई विश्वकै सशक्तमध्येको एक सशस्त्र कम्युनिष्ट संगठन मानिन्थ्यो। उक्त हिंसात्मक आन्दोलनमा २० वर्षमा करिब ७० हजार नागरिकको मृत्यु भएको सन् २००३ मा त्यहाँको ‘ट्रुथ एन्ड रिकन्सिलिएसन कमिसन’ले जनाएको छ।
उनलाई फुजिमोरी सत्ताले आजीवन कारावासको सजाय सुनाएको थियो। गोञ्जालोलाई पेरुको नौसेना आधार इलाकामा रहेको कालाओ जेलको पिँजडाघरमा राखिएको थियो। उनी सन् १९९२ सेप्टेम्बर १२ मा राजधानी लिमाबाट पक्राउ परेका थिए। उनको पक्राउसँगै साइनिङ पाथको सशस्त्र विद्रोह सुस्ताएको थियो।
जेलमै हुँदा अर्की कैदी एलिना इपारागिरेसँग उनले विवाह गरेका थिए। यो उनको दोस्रो बिहे थियो। उनको पहिलो श्रीमतीको युद्धकै बेला एगुस्टा ला टोरेको सन् १९८८ मा रहस्यमय मृत्यु भएको थियो। उनको मृत्युमा गोञ्जालोको प्रेमिका रहेकी इपारागिरेकै हात रहेको आरोप लागेको थियो।
केही महिनाअघि पेरुमा वामपन्थी रास्ट्रपति पेद्रो कास्टियो निर्वाचित भएर आएपछि विश्वभरिबाट गोञ्जालोको रिहाइको माग भइरहेको थियो। नेपालमा पनि शनिबार संवाद डबलीमा भएको कार्यक्रममा वामपन्थी नेताहरुले उनको रिहाइको माग गरेका थिए। यसरी माग गर्नेमा देव गुरुङ, सीपी गजुरेल, धर्मेन्द्र बाँस्तोलालगायत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।