काठमाडौं- तालिबान सरकारको शपथ ग्रहण समारोहमा रुसका उच्च अधिकारी सहभागी नहुने भएका छन्। रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले शपथ ग्रहण समारोहमा सहभागी नहुने बताएका हुन्।
यस हप्ताको सुरुमा रूसको माथिल्लो सदनका संसदले शपथ ग्रहण समारोहमा एक राजदूत स्तरका अधिकारी पठाउने बताएका थिए। तर, पेस्कोभले त्यसलाई नकारेका हुन्।
उनले तालिबानको नेतृत्वमा अफगान सरकारको पहिलो कदम के हुनेछ भन्ने कुरा रुसले हेर्ने बताए।
‘हामीलाई थाहा छैन कसरी स्थिति परिवर्तन हुनेछ। त्यसैले तालिबानको नेतृत्वमा अफगान सरकारको पहिलो कदम के हुनेछ र त्यसपछिको अर्को कदम के हो भन्ने बुझ्नको लागि यो महत्वपूर्ण छ,’ उनले भने।
बिहीबार राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानबाट अन्य देशका नागरिकहरुलाई निकाल्न तालिबानसँग कुरा गरिरहेको बताएका थिए।
उनले मस्कोमा एक पत्रकार सम्मेलनमा भने, ‘धेरै देशहरुले हामीलाई हाम्रा नागरिकहरु र अफगानिस्तानका नागरिकहरुलाई त्यहाँबाट उद्धार गर्न आग्रह गरिरहेका छन्। हामी तालिबानसँग कुरा गरेर उनीहरुको उद्धारको लागि यो काम गरिरहेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।