काठमाडौं- अफगानिस्तानमा दुई पत्रकारलाई तालिबानले निर्घात कुटपिट गरेको छ। बिरोध प्रदर्शनबारे समाचार संकलनका लागि गएका उनीहरुलाई तालिबानले नियन्त्रणमा लिएर नराम्रोसँग कुटपिट गरेको हो।
एटिलाट्रोज पत्रिकाका दुई पत्रकारको केही तस्वीर सार्वजनिक भएको जसमा गिरफ्तारीपछि उनीहरुको शरीरमा नराम्रोसँग कुटपिट गरेको चोटको निशान रहेको छ।
यसमा एक पत्रकार ताकी दरयाबीले बीबीसीलाई बताए अनुसार उनलाई जिल्ला प्रहरी चौकीमा लगेर कुटपिट गरिएको थियो।
तालिबानले भिडियो खिच्न बीबीसीलाई पनि रोकेको थियो।
ताकी दरयाबीसँग फोटोपत्रकार नेमतुल्लाह नकदी पनि थिए। यी दुबै पत्रकार बुधबार राजधानी काबुलमा महिलाहरुले गरेको विरोध प्रदर्शनको रिपोर्टिङ गरिरहेका थिए।
उनीहरुलाई पक्राउपछि प्रहरी चौकी लगिएको थियो जहाँ डण्डा, बिजुलीको तार र कोर्राले कुटिएको थियो। केही घन्टापछि केही कारण नबताइ उनीहरुलाई रिहा गरिएको थियो।
दरयाबीले भने, “उनीहरुले मलाई अर्को कोठामा लगे र मेरो हात पछाडि बाँधिदिए। मैले आफूलाई बचाउन खोजिन किनकी उनीहरुले यसो गर्दा अझै धेरै कुट्थे। यसकारण म ढाड देखाएर घोप्टो परें ताकि मैले अगाडिको भाग बचाउन सकूँ।”
“आठ जना आए र उनीहरुले जे भेटे त्यसले मलाई कुटे। मेरो अनुहारमा देखिएको निशान जुत्ताको हो जहाँ उनीहरुले लातीले हानेका थिए। म बेहोस भएपछि उनीहरु रोकिए। त्यसपछि उनीहरुले मलाई अर्को भवनको कोठामा लगेर छाडिदिए।”
दरयाबीले हिँड्न गारो भएपनि उनीहरुले आफूहरुलाई चाँडो चाँडो हिड्न भनिएको बताए।
नेमतुल्लाहले विरोध प्रदर्शनकारीको तस्बिर खिच्न थालेसँगै तालिबानी लडाकुले आफ्नो क्यामेरा खोसेको बताए।
नेमतुल्लाहले न्यूज एजेन्सी एएफपीसँग बताए, “एक तालिबानले मेरो टाउकोमा लात मार्यो र मेरो अनुहारमा कुल्चियो। मलाई लाग्यो उनीहरुले मलाई मार्न चाहन्छन्।''
जब नेमतुल्लाहले किन कुटेको भन्दै सोधे तब उनले जबाफ पाए , “ शिर काटिएको छैन, खुसी हुनू।”
एक अन्तरराष्ट्रीय गैर-सरकारी संस्था सीपीजेका अनुसार पछिल्लो दुई दिनमा १४ पत्रकारलाई हिरासतमा लिएर छाडिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।