काठमाडौं- कतारी अधिकारीले अफगानिस्तानको राजधानी काबुलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको घोषणा गरेका छन्।
काबुल विमानस्थलमा आयोजित एक पत्रकार सम्मेलनमा अधिकारीहरुले विमानस्थल ९० प्रतिशत क्षमतामा सञ्चालन भैरहेको जानकारी दिएका छन्। उनीहरुका अनुसार कतार एयरवेजले बिहीबार विदेशी यात्रु बोकेर काबुलबाट उडान भर्नेछ।
‘अवतरण उपकरण, रडार र अन्य उपकरणहरु पूर्णरुपमा पुनर्स्थापित भैसकेका छन्, तर केहि प्राविधिक पक्ष काम गर्न बाँकी छ,’ पत्रकार सम्मेलन मा भनिएको छ।
यता, समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिका करिब २०० जनालाई फिर्ता हुन तालिबानले अनुमति दिएको छ।
अफगानिस्तानमा फसेका अमेरिकीहरूलाई उद्धार गर्न र त्यहाँबाट निकाल्न विदेशमन्त्री एन्टोनी ब्लिङ्केन कतारको दोहामा रहेका छन्।।
अफगानिस्तान तालिबानले नियन्त्रण गरेपछि गत ३१ अगस्तसम्म अमेरिकी सेनासहित उनीहरूलाई सहयोग गर्दै आएका अफगानी नागरिकसमेत शरणार्थीका रूपमा अमेरिका पुगेका छन्।
तर, युद्धको बेला अमेरिकी सेनालाई सहयोग गर्ने सयौं अफगान नागरिकहरु मध्ये धेरै अझै अफगानिस्तानमा फसेका छन्। लगभग १०० अमेरिकी नागरिक अफगानिस्तानमा बस्ने अनुमान गरिएको छ।
तालिबानले अगस्ट १५ मा कब्जा गरेपछि यो पहिलो अपरेशन हो, जसमा अमेरिकीसहित करिब २०० जनालाई काबुलबाट एयरलिफ्ट गरिनेछ।
पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै अधिकारीहरुले यसलाई उद्धार नभई स्वतन्त्र हस्तान्तरण भनेका थिए। कतार र अमेरिकाका स्रोतहरुका अनुसार चार्टर उडान बिहीबारदेखि सुरु हुने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।