काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको आगामी महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसका संस्थापक नेता बिपी कोइरालालाई आठ वर्षसम्म बन्दी बनाइएको स्थान सुन्दरीजल पुगेर उनले उम्मेदवारी घोषणा गरेका हुन्।
'आज म उद्घोष गर्न चाहन्छु। संकल्प गर्न चाहन्छु। नेपाली कांग्रेसको आगामी महाधिवेशनबाट नेपाली कांग्रेसको महामन्त्रीको जिम्मेवारीमा तपाईंहरु सबैको साथ सहयोग र समर्थन लिएर एउटा सपनाको साथ नेपाली कांग्रेसलाई ड्राइभ गर्नुपर्छ भन्ने चाहन्छु,' उनले भने।
आफूले बिहान साढे ८ बजेतिरै आएर पार्टीका साथीहरुको भावना र चाहना अनुसार उम्मेदवारी घोषणा गर्ने सोचेको उनले बताए। 'तर मिडियामा समाचार पढेपछि पण्डित बासुदेव कृष्णशास्त्रीले सम्पर्क गर्नुभयो। उहाँले उम्मेदवारी घोषणा गर्ने दिन राम्रो भए पनि समय म तोक्छु भन्नुभयो। उहाँले १ बजेर ७ मिनेट उताको समयमा विरुवा रोप्ने र अरु कर्म गर्नुहोला भनेपछि अनि फेरि यो समय निर्धारण भयो', उनले भने।
आफूले दुई अढाइ वर्षदेखि नेपाली कांग्रेसको प्रवक्ताबाट रिडायर्ड हुने गरी राजनीतिमा आएको होइन भनेको स्मरण गरेका थिए। 'नेपाली कांग्रेसको प्रवक्ताबाट माथिल्लो जिम्मेवारीमा जाने घोषणा गर्ने दिन आजकै दिनलाई बनाएँ,' उनले भने, 'बिपी जन्म जयन्ती भन्दा राम्रो दिन के हुन्छ?'
औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुअघि शर्माले केही बेर कोइराला लगायत उनीसँगै सुन्दरीजलमा बन्दी बनाइएकाहरुको प्रशंसामा शब्द खर्चिएका थिए। उनले साथीलाई स्वीकार्नुपर्ने, साथ दिनुपर्ने संकल्प यो बेलामा जरुरी रहेको बताए। अहिले कांग्रेसले कांग्रेसको मात्रै जिम्मेवारी लिएर नपुग्ने उनको भनाइ छ।
कांग्रेसको विधानमा दुई जना महामन्त्री हुने व्यवस्था छ। यसअघि एक महामन्त्री निर्वाचित र अर्को मनोनित हुन्थे। संशोधित विधानमा दुवै महामन्त्री निर्वाचित हुने व्यवस्था छ।
कांग्रेसका अर्का प्रभावशाली नेता गगन थापाले भने भदौ १४ गते नै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए। काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले उम्मेदवारी घोषणा गरेका हुन्।
शर्मा १३औं महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए। २५ जनाको लागि भएको खुला निर्वाचनमा उनी १४औँ स्थानमा थिए।
अहिले पार्टी प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा नेपाल विद्यार्थी संघको दशौं सभापतिसमेत हुन्। शर्मा २०५७ पुसमा सभापतिमा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।