काठमाडौं- मेक्सिकोको दक्षिण-पश्चिममा शक्तिशाली भूकम्प मापन गरिएको छ।
स्थानीय समय अनुसार मंगलबार राति शक्तिशाली भूकम्पले धक्का दिएको हो। यूनाइटेड स्टेट्स जियोलोजिकल सर्वेका अनुसार ७ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ। तटिय सहर अकापुल्कोदेखि ११ माइल टाढा केन्द्रबिन्दु बनाएर भूकम्प आएको जियोलोजिकल सर्वेले जनाएको छ।
अमेरिकी सुनामी चेतावनी पद्दतीले उक्त क्षेत्रमा सुनामीको खतरा रहेको बताएको छ।
भूकम्पको धक्का २३० माइल टाढाको राजधानी मेक्सिको सिटीसम्म महसूस गरिएको रोयटर्सले जनाएको छ। जमिन हल्लिएसँगै मेक्सिको सिटीमा केहीबेर साइरनहरु बजेका थिए।
त्यहाँका मेयर क्लाउडिया सिनबाउमले ठूलो क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको आफ्नो ट्वीटरमार्फत जनाएका छन्। तर बिजुलीहरु काटिएको र त्यसलाई सुचारु गर्न अधिकारीहरु लागिरहेको उनलेब ताएका छन्।
उत्तरी अमेरिकी टेक्टोनिक प्लेटको किनारामा अवस्थित भएका कारण मेक्सिकोमा भूकम्प असामान्य भने होइन। सेप्टेम्बर २०१७ मा मेक्सिकोमा दुई ठूला भूकम्प आएका थिए। १९८५ को सेप्टेम्बर १८ मा ८ म्याग्निच्युडको भूकम्पले मेक्सिको सिटी र आसपास करिब ९ हजार ५ सय मानिसको ज्यान गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।