जेनेभा- तालिबान सत्तामा आएपछि अफगानिस्तानमा अस्थव्यस्थताबीच छुटेका सयौँ बालबालिकालाई उद्धार गरिएको संयुक्त राष्ट्रसंघले मङ्गलबार जानकारी दिएको छ। उनीहरू अमेरिकी सेनाको बहिर्गमनसँगै अफगानिस्तानबाट आफ्ना बावुआमासँग विदेश जान विमानस्थल र वरपरका क्षेत्रमा पुगेका तर परिवारबाट छुटेका बताइएको छ।
संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले बताएअनुसार अगस्ट १४ देखि अफगानिस्तानबाट परिवारसँग बाहिरिने क्रममा छुटेका करिब ३०० जना बालबालिकाहरू दर्ता भएका थिए।
युनिसेफ प्रमुख हेनरिएटा फोरले उनीहरूको सुस्वास्थ्य र सुरक्षाको चिन्ता व्यक्त गर्दै एउटा बयानमा भने, 'हामीले करिब ३०० बालबालिका परिवारबाट अलग्गिएको तथ्याङ्क पाएका छौं। अझै धेरै बालबालिकाहरूले आफूहरू परिवारबाट अलग्गिएको बताएकोले यो संख्या थप बढ्नसक्ने छ। उनीहरूको पहिचान तथा छानबिन गर्ने प्रयास जारी छ।'
युनिसेफले बताएअनुसार अगस्टको अन्त्यमा अमेरिकी सेना पूर्णतया हट्नुभन्दा पहिले देश छोड्ने हतारमा हजारौं मानिसहरू काबुल विमानस्थलमा ओइरिँदै गर्दा धेरै केटाकेटीहरू आफ्नो परिवारबाट अलग्गिएका थिए।
अन्तिम दिनहरूमा संयुक्त राज्य अमेरिकाले काबुलको विमानस्थलबाट एक लाख २३ हजारभन्दा बढी मानिसलाई अफगानिस्तानबाट बाहिरिन सघाएको अमेरिकी अधिकारीहरूले बताएका छन्। अमेरिकी नागरिक तथा अनुवादमा अमेरिकी मिशनलाई सहयोग गर्नेलगायतका र बसाइँ सर्न विशेष भिसाका लागि योग्य भएका अन्य व्यक्तिहरू सहित उनीहरूलाई विभिन्न मुलुक हुँदै अमेरिका, यूरोप लगायतका केही एसियाली मुलुकमा शरण दिइएको छ।
जर्मनी, कतार र अन्य देशहरूको उडानमा छुट्टिएका केही बालबालिकाहरूलाई उद्धार गरिएको युनिसेफले बताएको हो।
फोरले भने, 'विमानस्थलमा सङ्कट देखापरेको वा उद्धार उडानमा जान लागेका उनीहरूलाई भीडमा ठक्करपछि अचानक आफ्नो परिवारबाट छुट्दा यी केटाकेटीहरू कति डराए होलान् भन्ने कुरा म कल्पना मात्र गर्नसक्छु।' छुट्टिएका बालबालिकाहरू ‘संसारका सबैभन्दा कमजोर केटाकेटीहरूमध्ये’ भएका उनले औंल्याए।
'पारिवारिक अनुसन्धान र पुनर्मिलन प्रक्रियाका क्रममा उनीहरुलाई छिट्टै पहिचान गरी सुरक्षित राख्नु अत्यावश्यक छ,' उनले भने, 'सबै पक्षले बच्चाको हितलाई प्राथमिकता दिनुपर्छ र बालबालिकालाई दुर्व्यवहार, उपेक्षा र हिंसाबाट जोगाउनुपर्छ।'
युनिसेफले हाल उद्धार गरिएका बालबालिकाहरूको रेखदेख गरिरहेका सरकारहरूलाई प्राविधिक सहयोग प्रदान गरिरहेको र अझै पनि देशमा छुटेकाहरूलाई दर्ता गर्न, उनीहरूको परिवारको पत्ता लगाउन र पुनर्मिलन गर्न प्रयास गर्न मद्दत गरिरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।