काठमाडौं- स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरुले विभिन्न माग राखी प्रतिष्ठानमा तालाबन्दी गरेका छन्।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र यसअन्तर्गतका प्रशिक्षण केन्द्रहरुको उपयोगका लागि हस्तान्तरण गर्ने सम्बन्धमा मन्त्रिपरिषद्को निर्णयमा हस्तान्तरणसम्बन्धी नियमावली बनाइ हस्तान्तरण गर्ने भनिए पनि सो अनुरुप नगर्दा प्रतिष्ठानको कार्यक्षेत्र, कार्य जिम्मेवारी र जनशक्ति व्यवस्थापनमा अन्योलता रहेको भनि आन्दोलनरत कर्मचारीहरुले मंगलबार प्रतिष्ठान भवनमा तालाबन्दी गरेका हुन्।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारी सन्तलाल श्रेष्ठले प्रतिष्ठानले स्थानीय तहको सुशासन प्रवर्द्धनको निम्ति काम गरिरहेको भए पनि यसलाई ध्वस्त बनाउन र एनजीओलाई प्रश्रय दिन लागिएको र प्रतिष्ठानका कर्मचारीको व्यवस्थापनमा ध्यान नपुर्याएकाले आन्दोलनमा उत्रिनुपरेको बताए। मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए।
कर्मचारीहरुले प्रतिष्ठानको कार्यक्षेत्र तथा भूमिकाको खाका तयार गरी मन्त्रालयसँग यथाशीघ्र छलफल गराइ विद्यमान ऐन, नियमबमोजिम कार्य गर्न सुनिश्चित गरिनुपर्ने, प्रतिष्ठानको ऐन तथा नियमावली नयाँ नबनाइ विद्यमान ऐन तथा नियमावली कार्यक्षेत्र नघट्ने गरी समयसापेक्ष संशोधन गर्नुपर्ने, प्रतिष्ठानलाई संघ र प्रदेशका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिहरुका लागि क्षमता विकासको केन्द्र बनाउनुपर्ने, प्रतिष्ठानको संरचना स्पष्ट नहुँदा कर्मचारीहरुको दरबन्दी, कार्यविवरण तथा शाखा, महाशाखाको कार्य जिम्मेवारीहरुको तय हुन नसकेको भन्दै सो समस्या समाधान गर्नुपर्ने माग राखेका छन्। त्यस्तै विगत ११ वर्षदेखि अवरुद्ध भएको प्रतिष्ठानको पदपूर्ति र कर्मचारीहरुको वृत्ति विकासका लागि काम सुरु गर्नुपर्ने, प्रतिष्ठानमा लामो समयदेखि कार्यरत अस्थायी तथा करारका कर्मचारीहरुको पेसागत सुरक्षा गर्नुपर्ने पनि माग गरिएको कर्मचारी तापेन्द्रप्रसाद रिजालले बताए।
त्यस्तै प्रतिष्ठानअन्तर्गतका प्रशिक्षण केन्द्रहरु प्रदेश सरकारमा उपायोगका लागि हस्तान्तरण भइसक्दासमेत त्यहाँ कार्यरत कर्मचारीहरुको व्यवस्थापन नभएकाले तुरुन्तै सम्मानजनक व्यवस्थापन हुनुपर्ने माग गरिएको उनले जानकारी दिए। राजपत्रअनंकित कर्मचारीहरुको सेवाकालीन प्रशिक्षण प्रतिष्ठानबाट मात्र सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि स्पष्ट निर्देशन दिनुपर्ने, संघीय सरकारबाट जारी हुने ऐन, नियम, निर्देशिका, कार्यविधि र परिपत्रहरुको एकै प्रकारको सन्देश प्रवाह गर्नका लागि संघ, प्रदेश र स्थानीय तहमा गरिने सभा, गोष्ठी, कार्यशाला र प्रशिक्षणहरु प्रतिष्ठानबाटै सञ्चालन गर्नुपर्ने माग गरिएको प्रतिष्ठानका कर्मचारी रिजालले बताए। आफूहरुको माग पूरा नभएसम्म प्रतिष्ठानका सबै कार्यक्रमहरुलाई स्थगन गर्ने पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।