काठमाडौं- म्यान्मारको सैन्य सरकारले विवादित बौद्ध भिक्षु अशीन विराथुलाई रिहा गरेको छ। विराथु राष्ट्रवादी र मुस्लिम विरोधी पहिचानले परिचित छन्।
यसअघि उनीविरुद्ध नागरिक सरकारले राजद्रोहको मुद्दा चलाएको थियो। फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएपछि नागरिक सरकार विस्थापित भएको थियो। भिक्षुलाई सैन्य समर्थितको रुपमा लिइएको छ।
मुसलमान र खासगरेर रोहिंग्या समुदायलाई निशाना बनाइएर उनले गरेको भाषणका कारण उनलाई ‘बुद्धिस्ट बिन लादेन’ नाम दिइएको थियो। विगत केही वर्षमा उनी सेना समर्थित र्यालीम देखिने गरेका थिए र त्यहाँ उनले राष्ट्रवादी भाषण गरेर म्यान्मारकी नेतृ आङ् साङ सूची र उनको तत्कालीन सरकार नेशनल लीग फर डेमोक्रेसीको आलोचना गरेका थिए।
सन् २०१९ मा उनीमाथि नागरिक सरकारविरुद्ध घृणा र अपमान गरेको आरोपमा मुद्दा चलाइएको थियो।
विराथु यसपछि फरार भएका थिए तर गत वर्ष नोभेम्बरमा उनले प्रशासन समक्ष आत्मसमर्पण गरेका थिए।
सोमबार सैन्य सरकारले उनी विरुद्ध सबै आरोपहरु हटाइएको जनाएको छ तर कारणबारे भने केही उल्लेख गरिएको छैन।
उनको सैन्य अस्पतालमा उपचार जारी रहेको सैन्य सरकारले जनाएको छ तर उनको स्वास्थ्य अवस्थाबारे केही जानकारी गराइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।