Photo : Getty Images
काठमाडौं- लिबियाका पूर्वशासक मुअम्मर गद्दाफीका तेस्रो छोरा रिहा भएका छन्। राजधानी त्रिपोलीको जेलमा कैदी जीवन बिताइरहेका सादी गद्दाफीलाई करिब ७ वर्षपछि रिहा गरिएको हो।
उनी सन् २०१४ देखि त्यहाँ कैद थिए। सादी लिबियाको विशेष बलका कमाण्डर हुन्। उनी इटालीमा एक व्यवसायिक फुटबल खेलाडीको रूपमा करिअर बनाउने क्रममा रहेका थिए।
तर, लिबियामा भएको क्रान्तिका क्रममा २०११ मा कर्णेल गद्दाफी मारिए लगत्तै उनी नाइजेरिया भागेका थिए। त्यहाँबाट उनीलाई लिबिया सुपुर्दगी गरिएको थियो।
उनीमाथि हत्यासहित थुप्रै अपराधमा संलग्न रहेको आरोप लगाइएको थियो। तर, उनी कुनै अपराधमा दोषी ठहरिएनन्। रिहा भएपछि तुरुन्तै सादी एक निजी विमान लिए इस्तानबुल उडेको बताइएको छ।
लिबियाको राष्ट्रिय एकता सरकारले उनको रिहाइले एक राष्ट्रिय मेलमिलाप हासिल गर्न मद्दत गर्ने विश्वास लिएको छ। लिबियाका नेता गद्दाफीका आठ सन्तान थिए र उनीहरुमध्ये धेरैले उनको शासनमा प्रमुख भूमिका खेले।
उनका छोरा मुतासिम पनि २०११ मा मारिएका थिए। यस्तै, विद्रोहको प्रारम्भिक चरणमा अन्य दुई जना छोराहरु मारिएका थिए।
गद्दाफीको उत्तराधिकारी मानिने उनका दोस्रो छोरा सेफ अल इस्लाम २०१७ मा रिहा भएदेखि लिबियामा बस्दै आएका छन्। सन् २०१५ मा त्रिपोलीस्थित एक अदालतले तत्कालीन सत्ताविरुद्धको आन्दोलनलाई दबाउने विफल प्रयासका क्रममा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै उनलाई मृत्युदण्ड सुनाएको थियो।
तर, एक माफी सहमति अन्तर्गत उनलाई पाँच बर्षपछि जेलबाट रिहा गरिएको थियो। युद्ध अपराध तथा मानवताविरुद्ध अपराधका मुद्दामा हेगस्थित अन्तराष्ट्रिय फौजदारी अदालतले भने उनको खोजी गरिरहेको छ।
गद्दाफीका अर्का छोरा लेबनानमा पक्राउ परेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।