काठमाडौं- आइतबार रातिदेखि परेको वर्षाले काठमाडौंसहित देशका धेरै स्थान प्रभावित बनेको छ। विषेशत काठमाडौंमा भने अतिभारी वर्षा भएको छ। वर्षाले उपत्यकाका अधिकांश नदीनालाहरुमा बाढी आएको छ। जसका कारण नदी छेउवा बस्ती डुबानमा परेको छ।
आइतबार राति काठमाडौं उपत्यकामा अतिभारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार एक रातमा १२१.५ मिलिमिटर वर्षा भएको छ। महाशाखाका मौसमविद् मीनकुमार अर्यालले केही दिन यताको चर्को घामपछि विकसित भएको प्रणालीमा बंगलाको खाडीबाट आएको जलवाष्पयुक्त न्यून चापीय क्षेत्र मिसिदा अतिभारी वर्षा भएको जानकारी दिए।
उनका अनुसार राति साढे २ बजेदेखि ६ बजेसम्म मात्र १००.५ मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौंमा रातिदेखि बिहान पौन ९ बजेसम्म १२१.५ मिलिमिटर वर्षा मापन भएको उनले जनाए। मौसमविद् अर्यालका अनुसार आइतबार राति एकै ठाउँमा केन्द्रित वर्षा भएको छ।
मौसमविद् अर्यालले कम समयमा यति धेरै वर्षा भएको यो उपत्यकाका लागि दुर्लभ घटना भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।