काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिहरूले रिले अनसन तोडेका छन्।
क्रियाशील सदस्यताको विवाद टुंग्याएका तीन कार्यदल सदस्य शनिबार साँझ अनसनस्थल पुगेर अनसन तोडाएका हुन्। नेताहरु कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक अनसनस्थल केन्द्रीय कार्यालय पुगेका गिए।
कार्यदलका सदस्यहरुले विधिसम्मत आएका क्रियाशील सदस्यहरुको नाम छुटेको भए पुन: नामावलीमा समावेश गर्ने प्रतिबद्धता जनाएपछि आफूहरुले अनसन तोडेको नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले बताए।
'पूर्वी रुकुमको जिल्ला सभापतिको नामसमेत छुटेकोले उहाँको नाम क्रियाशील सदस्यमा समावेश गर्ने प्रतिबद्धता जनाउनुभएको छ। त्यस्तैगरी अरु जिल्लाबाट विधिसम्मत आएका नामावलीलाई पनि समावेश गर्ने प्रतिबद्धतापछि हामीले अनसन तोडेका छौं,' केसीले भने।
यसअघि पौडेलपक्षका नेता तथा जिल्ला सभापतिहरुको बिहान बसेको बैठकको निर्णयअनुसार अनसन तोड्ने सहमति बनेको थियो। क्रियाशील सदस्यताको विवाद टुंग्याएका तीन कार्यदल सदस्य अनसनस्थल पुगेर आन्दोलन रोक्ने सहमति भएको थियो।
भदौ ८ गते धर्ना दिएका जिल्ला सभापतिहरुले त्यसको अर्को दिनदेखि २८ घण्टे रिले अनसन जारी राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।