काठमाडौं- नेपाली कांग्रेसले दुई दिनअघि सार्वजनिक गरेको क्रियाशील सदस्यताको सूचीमा एक जिल्ला सभापतिको नाम नै समावेश गरिएको छैन।
पूर्वी रुकुमको जिल्ला सभापति केशरमान रोकाको नाम समावेश गरिएको छैन। 'मैले कम्प्युटर हेर्न जान्दिनँ। छोरा छोरीलाई हेर भनेको थिएँ। नाम छैन भन्छन्,' काठमाडौंबाट दुई दिनअघि मात्रै उनी गृहजिल्ला फर्केका थिए। क्रियाशील सदस्यतामा नाम छुटेको भए समावेश गर्न आग्रह गर्दा पनि काठमाडौंमा हुँदा नपाएको उनले गुनासो गरे।
पुथा उत्तरगङ्गा गाउँपालिका-९ का जिल्ला सभापति रोकाले आफ्नो नाम नवीकरण गर्न सूचीकृत गरे पनि प्रकाशित नामावलीमा नभएको बताए। उनको वडाबाट १९ जनाको नवीकरण गरिएको छ। उक्त वडामा १५ जनाले कांग्रेसको नयाँ क्रियाशील सदस्यता लिएका छन्।
कांग्रेसले दुई दिनमा ४८ जिल्लाको नाम सार्वजनिक गरेको छ। वडा तहको अधिवेशन भदौ १८ को लागि तोकिएको छ। निर्वाचन समितिले ४८ जिल्लामा निर्वाचन अधिकृत खटाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।