काठमाडौं - खसीको मासु भन्दै बाख्रीको मासु बिक्री तथा वितरण गर्ने आठ जनालाई प्रहरीले काठमाडौंको टुकुचाबाट पक्राउ गरेको छ।
शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका–२८ टुकुचास्थित खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भनी बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
प्रहरीले उक्त स्थानमा पुगेर जाँच गर्दा बाख्रीको मासु करिब ५६७ किलो, बा.४६० नम्बरको स्यान र बा.२० च ६३४६ नम्बरको पिकअप गाडीमा लोड गरिरहेको अवस्थामा फेला पारेको जनाएको छ। प्रहरीले मासुसहित गाडी नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।
पक्राउ पर्नेहरूमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ का ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिकोटका ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा, धादिङको गजुरी गाउँपालिका–२ का २६ वर्षीय सनम तामाङ, २२ वर्षीय राजु लामा, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–१ का २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ का २५ वर्षीय दिनेश महत रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।