काठमाडौं- नेपाली कांग्रेसका क्रियाशील सदस्यताको सूची प्रकाशित गर्न माग गर्दै जिल्ला सभापतिहरुले धर्ना दिने भएका छन्।
सोमबार (आज) क्रियाशील सदस्यताको नाम सार्वजनिक नगरे मंगलबारदेखि केन्द्रीय कार्यालयमा धर्ना दिइने नुवाकोट जिल्ला सभापति जगदिशश्वर नरसिंह केसीले जानकारी दिए।
उनले क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब सम्पूर्ण सूची सार्वजनिक गर्न मागसमेत गरेका छन्।
‘क्रियाशील सदस्यता तहगत निर्णय गरिएको सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधिविधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानबिन गरेर मात्र अन्तिम रुप प्रदान गर्नुपर्छ,’ उनले भने।
यस्तै, सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नसमेत उनले माग गरे।
क्रियाशील सदस्यताको सूची प्रकाशन नगरे धर्ना र अनसन जस्ता विरोध कार्यक्रम गरिने केसीले बताए। धर्ना केन्द्रीय कार्यालयमा भदौ ८ गते ११ बजेबाट सुरु हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।