काठमाडौं- काबुल विमानस्थल नजिकै विदेशी नागरिकको अपहरण भएको समाचारलाई तालिबानका प्रवक्ता अहमद उल्लाह वासेकले खण्डन गरेका छन्।
काबुलको विमानस्थलमा अझै पनि अमेरिकी नेतृत्वको उद्धार समूहले काम गरिरहेको र अपहरणकबारे आएका सूचना हल्ला मात्र भएको उनले बताएका हुन्।
‘अपहरणबारे रिपोर्ट एउटा हल्ला हो। तालिबान सदस्यहरूले सबै विदेशी नागरिकलाई विमानस्थलमा पहुँच प्राप्त गर्न मद्दत गरिरहेका छन्। हामी विमानस्थलमा पुग्न सबै विदेशीहरूलाई सुरक्षित मार्ग प्रदान गर्न कटिबद्ध छौं,’ उनले स्थानीय समाचार संस्था इटललाटरोजसँग भने।
उनले शनिबार पनि तालिबान फौजले करिब १५० भारतीयलाई विमानस्थलमा सुरक्षित रुपमा प्रवेश गर्न साथ दिने बताए। तालिबानले आइतबार अफगानको राजधानी कब्जा गरे लगत्तै हजारौं अफगानीहरु देश छोड्न काबुल विमानस्थलमा पुगेका छन्।
शनिबार बिहान तीनवटा उडानले अफगान भूमि छोड्न चाहने व्यक्तिलाई उद्धार गरेको स्थानीय फरहद मोहम्मदीले बताए। हवाई उडान प्रक्रियामा सहयोग गर्न काबुल विमानस्थलमा करिब पाँच हजार अमेरिकी सेनाको खटाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।