काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मन्त्रालय र विभागहरुलाई तथ्यसहित बृहत् योजना बनाउन निर्देशन दिएका छन्।
राष्ट्रिय विकास समस्या समाधान समितिको ४२औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको आवश्यकतालाई बुझेर तथ्यसहित विस्तृत कार्ययोजना पेश गर्न मातहतका निकायलाई भनेका हुन्।
समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले राष्ट्रिय महत्वका र बहुसंख्यक जनता लाभान्वित हुने योजना बनाउन, त्यसलाई कार्यन्वयन गर्ने कार्ययोजना र सम्पन्न हुने समयसीमा समेत तोकेर राष्ट्रिय योजना आयोगमा पेश गर्न सबै मन्त्रीलाई निर्देशन दिए।
‘कृषिलाई आधुनिकीकरण गर्न के–के आवश्यक छ ? के–कति लगानी आवश्यक छ? कृषिमा आश्रित जनसंख्या कति छ? उत्पादन र उत्पादकत्व बढाउन के गर्नुपर्छ? यी सबै कुरा तथ्यसहित पेश गर्नुस्’, प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले विगतको सरकारले बन्द गरेका उद्योग वर्तमान सरकारले सञ्चालन गर्ने पनि बताए।
‘कति वटा उद्योग छन्? तीमध्ये कति बन्द छन्? कतिलाई तत्काल सञ्चालन गर्न सकिन्छ? यी सब योजना बनाएर कार्यान्वयन थाल्नुपर्छ’, प्रधानमन्त्रीले भने।
अब कामलाई विगतको निरन्तरताको रुपमा नभई हरेक कामलाई नयाँ ढंगले र बृहत् सोचका साथ बढाउनुपर्नेमा उनले जोड दिए।
प्रधानमन्त्री ओलीले सानातिना योजना मन्त्रालय तहबाटै टुंग्याउन र ठूला योजनाहरु योजना आयोग र राष्ट्रिय विकास समस्या समाधान समितिमा पेश गर्न मन्त्रीहरुलाई निर्देशन दिए।
‘दुई चपरी माटो कोदालोले नै फाल्नुस्’, प्रधानमन्त्री ओलीले भने, ‘डोजरै चलाउनुपरे यहाँ ल्याउनुहोस्।’
प्रधानमन्त्री ओलीले देशलाई आत्मनिर्भर बनाउनेतर्फ सबैले ध्यान दिनुपर्ने बताए। मानव स्वास्थ्यमा गम्भीर असर गर्ने वस्तुको आयातलाई तत्काल रोकिने भन्दै सीमामा रहेका क्वारेन्टाइन कार्यालयहरुलाई चुस्त बनाएर विदेशबाट आयात हुने वस्तुको राम्ररी परीक्षण गरेर मात्र स्वदेश भित्र्याउन अनुमति दिनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले योजना आयोगलाई पनि बृहत्तर योजना बनाएर समितिको बैठकमा पेश गर्न आग्रह गरे।
‘अब चल्ते-चलाते होइन, साँच्चै देश विकास गर्नु छ’, उनले भने, ‘त्यसैले सबैले फरक ढंगले सोचौं। फरक ढंगले काम गरौं।’
बैठकमा मन्त्रीहरुले आफ्नो मन्त्रालयसँग सम्बन्धित विभिन्न योजना र तिनको सञ्चालनमा आएका कठिनाइबारे जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।