काठमाडौं– अविरल वर्षापछि आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङबाट देशभर भएको क्षतिको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित नागरिकको उद्धार, सुरक्षित व्यवस्थापन र क्षतिग्रस्त पूर्वाधार पुनः सञ्चालनमा सरकार केन्द्रित रहेको बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार असोज ८ गतेदेखि वर्षाजन्य विपद्का घटनामा परी हालसम्म २७ जनाको मृत्यु भएको छ। ७ जना घाइते छन् भने ४ जना अझै सम्पर्कविहीन छन्। यस अवधिमा ५१३ वटा मनसुनजन्य घटना भएका छन्, जसबाट १ हजार ६५ परिवार प्रभावित भएका छन्।
वर्षाका कारण २२५ घर पूर्ण रूपमा र १३७ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। २७ वटा गोठ तथा ११४ पशुचौपायामा समेत क्षति पुगेको विवरण प्रधानमन्त्रीले दिएका छन्।
१४७ ठाउँमा सडकमा क्षति, १२५ स्थान सञ्चालनमा
बाढीपहिरोले सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणालीमा समेत क्षति पुर्याएको छ। देशभरका विभिन्न राजमार्ग तथा सडकखण्डका १४७ स्थानमा क्षति पुगेकामा १२५ स्थानमा मर्मत गरी यातायात सञ्चालनमा ल्याइसकिएको प्रधानमन्त्री शाहले बताएका छन्।
पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालनजिक भासिएको सडकसमेत मर्मत गरी एकतर्फी सञ्चालनमा ल्याइएको छ।
बिपी राजमार्गअन्तर्गत मात्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडालगायत क्षेत्रमा पहिरो तथा डाइभर्सन बगेका कारण अवरुद्ध सडक खुलाउने काम भइरहेको छ। थप क्षति नभएमा भोलि साँझसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य रहेको प्रधानमन्त्रीले बताएका छन्।
कालीगण्डकी कोरिडोरका बेनी–जोमसोम, पाल्पा, बागलुङ र नवलपरासी खण्डका विभिन्न स्थानमा पहिरो, सडक भासिने तथा पुलको एप्रोच बग्ने समस्या देखिएको छ। यहाँ सडक पूर्ण रूपमा सञ्चालनमा आउन तीन दिनभन्दा बढी लाग्न सक्ने प्रारम्भिक अनुमान छ।
भालुवाङ–चकचके–लिवाङ सडकमा पहिरो हटाएर यातायात सञ्चालनमा आइसकेको छ। बेसिसहर–चामे सडकको मनाङस्थित नासों गाउँपालिका, खोत्रोलगायत क्षेत्रमा पनि पहिरो हटाउने काम भइरहेको छ। पूरै सडक सञ्चालनमा आउन करिब तीन दिन लाग्ने अनुमान गरिएको छ।
त्रिभुवन राजपथ पहिरो हटाएर सुरक्षा सतर्कतासहित सञ्चालनमा ल्याइएको छ। सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा २१ स्थानमा पहिरो खसे पनि सडक खुलाउने काम तीव्र पारिएको र भोलिसम्म यातायात सञ्चालन गर्ने लक्ष्य रहेको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
१ हजार मेगावाटभन्दा बढी विद्युत् आपूर्ति प्रभावित
बाढीका कारण कालीगण्डकी, मर्स्याङ्दी र सेती–मादी कोरिडोरबाट राष्ट्रिय प्रसारण प्रणालीमा आउने १ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ।
त्यसमध्ये सेती–मादी कोरिडोरका २६२ मेगावाट र मर्स्याङ्दी कोरिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र पुनः सञ्चालनमा आएका छन्। १४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् केन्द्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
बाढीबाट क्षतिग्रस्त राहुघाट जलविद्युत् आयोजना पुनः सञ्चालनमा आउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ। कुस्मा–दाना प्रसारण लाइनमा क्षति पुग्दा सातवटा जलविद्युत् केन्द्रको करिब १९० मेगावाट उत्पादन प्रसारण हुन सकेको छैन।
कालीगण्डकी कोरिडोरको २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना–कुस्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरणसमेत प्राप्त भएको प्रधानमन्त्रीले बताएका छन्।
टेलिकमका ७८२ टावर सञ्चालनमा
विपद्का कारण अवरुद्ध दूरसञ्चार सेवा पुनः सञ्चालनको काम पनि अघि बढाइएको छ। नेपाल टेलिकमका १ हजार १३२ टावरको नेटवर्क विच्छेद भएकामा ७८२ वटा पुनः सञ्चालनमा ल्याइएको छ।
त्यस्तै एनसेलका १६२ नेटवर्क विच्छेद भएकामा १०५ वटा मर्मत गरी सञ्चालनमा ल्याइएको छ।
डुबानमा परेका बस्तीका नागरिक सुरक्षित स्थानमा
नारायणी नदीमा आएको बाढीपछि सुस्ताका बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। चितवनको देवघाट, बाह्रघरेलगायत तटीय क्षेत्रका बासिन्दालाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
सप्तकोशी नदीको बहाव बढेपछि तिलाठी कोईलाडी गाउँपालिकाका डुबान प्रभावित करिब ५०० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। सर्लाहीको लखनदेई खोलाको बाढीबाट भाडसर खुटौनाको बस्ती प्रभावित भएको छ भने रौतहटमा लालबकैया र बागमती नदीको तटीय क्षेत्र प्रभावित भएका छन्।
तिनाउ नदी किनारका मझुवा, प्रगतिनगर, हात्तीसुँढ र युद्धनगरलगायत बस्तीबाट सुरक्षाकर्मीले करिब २०० परिवारका एक हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारेका छन्।
मुस्ताङ, मनाङ, पाल्पा, बागलुङ र म्याग्दीलगायत पहाडी तथा हिमाली जिल्लामा समेत बाढीपहिरोको प्रभाव परेको छ। प्रभावित नागरिकका लागि स्थानीय तहसँगको समन्वयमा राहत तथा अस्थायी बसोबासको व्यवस्था मिलाइएको प्रधानमन्त्री शाहले बताएका छन्।
‘मौसमजन्य खतरा अझै टरेको छैन’
प्रधानमन्त्री शाहले मौसमजन्य जोखिम अझै कायम रहेकाले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।
उनले प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षतिग्रस्त सडक, विद्युत्, सञ्चारलगायत पूर्वाधारलाई सकेसम्म छिटो सञ्चालनमा ल्याउने काममा सरकार केन्द्रित रहेको जानकारी दिएका छन्।
वर्षा र बाढीपहिरोका कारण दसैंलगायत ठूला चाडपर्वको मुखमा राजमार्गसमेत प्रभावित भएका छन्। पछिल्लो विवरणअनुसार अधिकांश सडकमा पहिरो हटाउने र यातायात सञ्चालन गर्ने काम जारी छ।
प्रधानमन्त्रीको आग्रहअनुसार जोखिमयुक्त क्षेत्रका नागरिकले मौसम तथा विपद्सम्बन्धी सूचना ध्यानपूर्वक हेर्न, जोखिम मोलेर यात्रा नगर्न र आवश्यक परे सुरक्षित स्थानमा जानुपर्नेमा सरकारले जोड दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।