काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएर करिब १० घण्टा राखी पुनः परिवारको जिम्मा लगाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल प्रहरीका अधिकृतहरूले घरमा सुतिरहेको अवस्थामा जबरालाई उठाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगेको घटनाप्रति सर्वोच्चले आपत्ति जनाएको हो।
फुलकोर्ट बैठकपछि जारी विज्ञप्तिमा कानुनले निर्धारण गरेको उचित प्रक्रिया पूरा नगरी गरिने कामकारबाहीमा स्वेच्छाचारिताको प्रवृत्ति देखिने उल्लेख गर्दै त्यस्तो व्यवहार लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने बताइएको छ।
सर्वोच्च अदालतले नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यका रूपमा आत्मसात् गरेको उल्लेख गरेको छ। न्यायिक जनशक्तिप्रति राज्यका निकायले गर्ने व्यवहार संवेदनशील र गम्भीर हुनुपर्ने पनि विज्ञप्तिमा भनिएको छ।
प्रत्येक नेपाली नागरिकको व्यक्तिगत स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणका लागि प्रचलित कानुनले निर्धारण गरेको उचित प्रक्रिया अपनाउनुपर्ने सर्वोच्चको भनाइ छ।
सर्वोच्चले कुनै पनि पूर्वपदाधिकारीसँग जोडेर न्याय सम्पादनका क्रममा भएका वा हुने कामकारबाहीलाई चिढ्याउने वा सम्प्रेषण नगर्न सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ।
साथै, न्यायपालिकाबाट सम्पादन हुने न्यायसम्पादनलगायत हरेक कामकारबाहीमा बाह्य वा आन्तरिक कुनै पनि प्रकारको प्रभावलाई किञ्चित पनि स्थान नदिने विश्वास आम नागरिकसमक्ष दिलाएको छ।
सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाद्वारा जारी विज्ञप्ति २०८३ असोज १२ गते सार्वजनिक गरिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।