काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र बागमती प्रदेश सरकार गठनबाट सुरु भएको विवाद अब अदालतसम्म पुगेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै पार्टीका सांसदहरूलाई लक्षित गरी दिएको अभिव्यक्तिलाई लिएर बागमतीका सात सांसदले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेका छन्।
मुद्दा दायर गर्नेमा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, मन्त्रीहरू गिरबहादुर तामाङ, राजेन्द्र प्रजापती र राजु विष्ट तथा सांसदहरू मोनिका श्रेष्ठ, नुरज बज्राचार्य र डम्बर तामाङ छन्। उनीहरूले वारेसमार्फत फिरादपत्र दर्ता गराएका हुन्।
विवादको जड के हो ?
बागमती प्रदेशमा सरकार गठनका क्रममा राप्रपाका १२ सांसदमध्ये सात जनाले नेकपा एमालेका किरण थापा मगर नेतृत्वको सरकारलाई समर्थन गरेका थिए। त्यसपछि तीन जना सांसद सरकारमा सहभागी भएका थिए।
यो निर्णय पार्टी केन्द्रको नीतिविपरीत भएको भन्दै राप्रपा नेतृत्व र बागमतीका सांसदबीच विवाद चर्किएको थियो। यही विवादका क्रममा अध्यक्ष लिङ्देनले आफ्नै पार्टीका सांसदहरू एमालेसँग ‘खरिद–बिक्री’ भएको आशयको आरोप लगाएका थिए। उनले पार्टी काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै आफ्ना सांसदलाई ‘खसी–बाख्राजस्तो बिक्री हुन तयार भएको’ र पार्टीविपरीत ‘अरू दलको ओछ्यान तताउन गएको’ जस्ता अभिव्यक्ति दिएका थिए।
सांसदहरूले भने आफूहरूले पार्टीको निर्णयअनुसार नै प्रदेश सरकार गठनमा समर्थन गरेको दाबी गर्दै लिङ्देनलाई आरोप प्रमाणित गर्न चुनौती दिएका थिए। प्रमाण दिन नसके सार्वजनिक रूपमा माफी माग्नुपर्ने उनीहरूको माग थियो।
अदालतमा पुगेको आरोप
सांसदहरूले अदालतमा दिएको फिरादपत्रमा लिङ्देनको अभिव्यक्तिले आफूहरूको राजनीतिक तथा व्यक्तिगत प्रतिष्ठामा असर परेको दाबी गरेका छन्। विशेषगरी सांसद मोनिका श्रेष्ठले आफू महिला जनप्रतिनिधि भएको अवस्थामा प्रयोग गरिएको शब्दावलीले आफ्नो सामाजिक तथा व्यक्तिगत मर्यादामा समेत आघात पुगेको जिकिर गरेकी छन्।
उनीहरूले मुलुकी अपराध संहिता, २०७४ को दफा ३०५ र ३०६ विपरीत कार्य भएको दाबी गर्दै दफा ३०७ अनुसार कारबाहीको माग गरेका छन्।
फिरादपत्रमा कानुनबमोजिम हदैसम्मको सजायसँगै क्षतिपूर्ति र मुद्दा प्रक्रियामा लागेको खर्चसमेत लिङ्देनबाट भराउन माग गरिएको छ।
यससँगै बागमती प्रदेश सरकार गठनलाई लिएर सुरु भएको राप्रपाको आन्तरिक विवाद व्यक्तिगत आरोप–प्रत्यारोप हुँदै कानुनी लडाइँमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।