काठमाडौं– पार्टीको टिकटबाट गाउँपालिका अध्यक्षको चुनाव जितेका जनप्रतिनिधिलाई नै नेपाली कांग्रेसले क्रियाशील सदस्यबाट हटाएको छ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पालाई कांग्रेसले क्रियाशील सदस्यबाट हटाएको पाइएको हो।
अध्यक्ष शेर्पाले आफूलाई जिल्ला नेतृत्वले क्रियाशील सदस्यबाट हटाएको जानकारी दिए।
कांग्रेस क्रियाशील सदस्यताको विवाद हुने जिल्लामध्ये सिन्धुपाल्चोक पनि पर्छ। यसपटक सिन्धुपाल्चोकमा ९ हजारको हाराहारीमा नयाँ क्रियाशील सदस्य थपिएका छन्।
जिल्लामा धेरै जना नयाँ सदस्य थपिँदा आफूलाई किन हटाइयो भन्ने कारण नै थाहा पाउन नसकेको शेर्पाको भनाइ छ।
'मैले स्थानीय तहको निर्वाचनमा कांग्रेसबाटै लिएको टिकटले निर्वाचन जितेको हो। मलाई सिन्धुपाल्चोक कांग्रेसले टिकट दियो मैले निर्वाचन जिते,' शेर्पाले भने, 'तर, अहिले आएर क्रियाशील सदस्यबाट मेरो नाम हटाइएको छ।'
क्रियाशील सदस्यबाट नाम हटाइएको पाइएपछि क्रियाशील विवाद समाधान समितिमा उजुरी दिएको शेर्पाले जानकारी दिए।
'नेपाली कांग्रेसले मलाई क्रियाशील सदस्यता प्रदान गर्न सक्दैन भने देशभरीका कांग्रेसहरुले कसरी पार्टीप्रति विश्वास गर्ने ठाँउ रहन्छ ?' शेर्पा प्रश्न गर्छन्।
शेर्पा यसअघि २ पटक नेपाली कांग्रेसको महासमिति सदस्य र २०६४ सालमा नेपाली कांग्रेसबाटै संविधान सभा सदस्यको चुनावमा उम्मेदवार समेत भएका थिए ।
‘मप्रति विश्वास थिएन र पार्टीको विधानअनुसार म सदस्यका लागि योग्य थिइनँ भने २०७४ सालको स्थानीय चुनावमा पार्टीले मलाई किन टिकट दियो त?' शेर्पा भन्छन्।
नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति आइतमान तामाङले भने पार्टी विधानको दफा १५ र २५ अनुसार शेर्पालाई नयाँ क्रियाशील सदस्य दिन मिल्ने गरी सिफारिस गरेको बताए। 'हामीले सिफारिस गरेका छौं, उहाँले पुरानो क्रियाशील सदस्यतालाई नै मान्यता दिनुपर्ने भनेपछि हामीले नसक्ने भनेको हो,' तामाङले भने।
सिन्धुपाल्चोकमा क्षेत्र नम्बर १ मा नवीकरण सदस्य ३ हजार ५०० सय छ्न् भने थपिएका सदस्य संख्या ४ हजार ४४३ छन्। त्यस्तै, क्षेत्र नम्बर २ मा २ हजार ५६६ नवीकरण सदस्य छन् भने ४ हजार ४५३ नयाँ सदस्य थपिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।