काठमाडौं- क्रियाशील सदस्यता वितरण विधिसंगत ढंगले नभएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जनाएको छ।
पौडेल पक्षका नेताहरुको बैठकले विधानमा भएको व्यवस्था मिचिएको ठहर गरेको छ। महामन्त्री शशांक कोइरालानिवास महाराजगञ्जमा भएको बैठकले क्रियाशील सदस्यताको विवाद विधानसंगत तरिकाले समाधान निकाल्नुपर्ने निष्कर्ष निकालेको छ।
‘हरेक क्रियाशील सदस्य गाउँ वा नगरको वडाबाट सिफारिस भएर क्षेत्र हुँदै जिल्ला आउने व्यवस्था छ’, बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले भने, ‘संस्थागत रुपमा प्रक्रियाबाट नामहरु आउनुपर्छ।’
तोकिएको समयमा महाधिवेशन गर्नेबाहेक पार्टीसँग अन्य विकल्प नभएको बैठकले निष्कर्ष निकालेको छ। सीमित समयावधि रहेकाले विवाद भएका स्थानमा पुरानै प्रतिनिधि कायम गरी महाधिवेशन गर्नुपर्ने तर्क उठेको नेता केसीले जानकारी दिए।
क्रियाशील सदस्यता छानविन समितिले मंगलबार आफ्नो प्रतिवेदन बुझाउने भएको छ। समितिमा सहमति हुन नसकेका स्थानको क्रियाशील सदस्यता टुंगाउने जिम्मेवारी शीर्ष नेतालाई दिने समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।