काठमाडौं- नेकपा (एमाले)का दुवै पक्षका सांसदले पार्टीभित्र एकता कायम गर्न सांसदहरुको हस्ताक्षर संकलन गर्ने भएका छन्।
दुई पक्षका केही सांसदबीच बिहीबार सिंहदरबारमा भएको भेलाले एकताका लागि शीर्ष नेतृत्वलाई दबाब दिने निर्णय गरेको छ। बैठकमा सहभागी माधवकुमार नेपाल पक्षका सांसद झपट रावलले भने- ‘१० बुँदे कार्यदलका सबै सदस्यलाई छलफल गर्ने निर्णय गरिएको छ। त्यही छलफलबाट एकता पक्षका सांसदको हस्ताक्षर अभियान सुरु गरिनेछ।’
एकताको पक्षमा अधिकतम सांसदलाई उभ्याउने निर्णय गरिएको छ। पार्टी विभाजन हुने अवस्था भयो भने हस्ताक्षर गर्ने सांसदहरु कुनै पनि पक्षमा नलाग्ने बताइएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका राजेन्द्र राई, कृष्णप्रसाद दाहाल, सूर्य पाठक, लालप्रसाद साँवा, यज्ञ बोगटी, शान्ति पाख्रिन बैठकमा सहभागी भएका थिए।
वरिष्ठ नेता नेपाल पक्षका झपट रावल, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, जयकुमार राई, पवित्रा खरेल, राजबहादुर बुढा, नारायण खतिवडा लगायतका सांसद सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।