काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकको अन्तिम दिन पार्टी एकताका लागि भइरहेको प्रयासमाथि छलफल भएको छ। बैठकले विगतको गल्ती बिर्सेर आउनेहरुलाई स्वागत गर्ने निष्कर्ष पनि निकालेको छ।
‘आजको बैठकमा मूलतः पार्टीको एकतालाई कायम राख्नका निम्ति भइरहेका प्रयासहरुका बारेमा छलफल गरेका छौं। र, यो प्रयासलाई थप निरन्तरता दिने र कमसे कम नेतृत्वको तर्फबाट पार्टीका सबै साथीहरुलाई समेट्ने मामलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष निकालिएको छ’, बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘अध्यक्षले पार्टी एकतालाई सुदृढ गर्ने गरी र पार्टीमा योगदान गर्नेगरी आउन चाहने साथीहरुलाई विगतका गल्ती बिर्सेर पनि स्वागत गर्न सकिने कुराहरु बताउनुभएको छ।’
पार्टी एकताका निम्ति प्रयासहरु जारी राख्ने र बाटो बिराएका, आन्दोलनको अहित हुनेगरी गतिविधिमा संलग्न भएका साथीहरुलाई कमिकमजोरीहरु सच्याएर आउनका निम्ति अपिल गर्दै बैठक सकिएको ज्ञवालीको भनाइ छ।
हिजो मात्रै स्पष्टीकरण पत्र पठाइएका २२ जना सांसद्को जवाफ आउने क्रम रहेको ज्ञवालीले बताए। उनीहरुको सम्बन्धमा एमालेले कुनै निर्णय लिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।