काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफूसहित (एमालेका) सांसदको कार्यलाई सर्वोच्च अदालतको फैसला तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुकूल रहेको स्पष्टीकरण दिएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको ‘स्पष्टीकरण’का लागि तयार पारिएको जवाफमा नेता नेपालले सर्वोच्चको फैसला र लोकतात्रिक मूल्य तथा मान्यता अनुसार नै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको बताएका हुन्। संविधानको धारा ७६ को उपधारा (५) को प्रक्रियामा सहभागी भइ मतदान गर्न पाउने प्रतिनिधिसभाका सदस्यहरुको एक विशिष्ट प्रकृतिको अधिकार भएकाले सो मतदानलाई लिएर कुनै किसिमको कारबाही गर्न नमिल्ने भनी सर्वोच्च अदालतले प्रतिषेधको आदेश जारी गरेको पनि नेता नेपालले स्मरण गराएका छन्।
‘सर्वोच्च अदालतले मिति २०७८/०३/२८ गते प्रतिनिधिसभाको पुनःस्थापना गर्दा संविधानको धारा ७६ को उपधारा (५) को प्रक्रियामा सहभागी भइ मतदान गर्न पाउने प्रतिनिधि सभाका सदस्यहरुको एक विशिष्ट प्रकृतिको अधिकार भएकाले सो मतदानलाई लिएर कुनै किसिमको कारबाही गर्न नमिल्ने भनी प्रतिषेधको आदेश जारी गरको छ,’ ओलीले सोधेको स्पष्टीकरणमा नेता नेपालले जवाफ दिँदै भनेका छन्, ‘अतः हाम्रो उक्त कार्य नेपालको संविधान, पार्टीको विधान, सम्मानित सर्वोच्च अदालतको फैसला र लोकतान्त्रिक मूल्य, मान्यताअनुकुल रहेको छ।’
प्रधानमन्त्री रहेका बेला ओलीले गत वैशाख २७ गते संसदमा विश्वासको मत लिँदा अनुपस्थित रहेको विषयलाई नेता नेपालले राजनीतिक निर्णयको रुपमा अर्थ्याएका छन्।
‘संविधानको भावना र लोकतान्त्रिक मान्यता विपरीत एउटै व्यक्ति विभिन्न अवस्थामा समेत सत्तामा रहिरहने प्रवृत्तिको विरोध स्वाभाविक थियो। त्यसैले मिति २०७८ वैशाख २७ गते तत्कालीन प्रधानमन्त्रीले विश्वासको मत लिँदा म समेतले उक्त प्रक्रियामा सहभागी हुन वाञ्छनिय ठानेनौँ र अनुपस्थित रहेका हौं,’ नेता नेपालले भनेका छन्, ‘यो एक राजनीतिक निर्णय थियो । यस्तो राजनीतिक निर्णयलाई व्यक्तिले पार्टी विधान विपरित कार्य गरेको भनि अर्थ गर्न मिल्दैन र हुँदैन पनि।’
नवौं राष्ट्रिय महाधिवेशनद्वारा पारित विधानअनुसार अध्यक्ष पार्टी महाधिवेशनप्रति उत्तरदायी हुनुपर्नेमा त्यसो नगरी नवौं राष्ट्रिय महाधिवेशनद्वारा पारित पार्टी नीति तथा कार्यदिशा र विधानको गम्भीर उलंघन भएकोले आफू त्यस खालका ‘अवैधानिक कार्य’को विपक्षमा उभिएको नेता नेपालले अध्यक्ष ओलीलाई जवाफ दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।