काठमाडौं- प्रतिनिधि सभा विघटनका विषयमा सर्वोच्च अदालतले गरेको फैसला विश्वकै नमुना रहेको राष्ट्रिय सभा सदस्य रामनारयाण बिडारीले बताएका छन्। बिहीबार राष्ट्रिय सभामा बोल्दै उनले नेपालको नजिर विश्वका लागि अब उदाहरणीय बन्ने समेत दाबी गरे।
उनले भने, ‘अहिलेको अदालतले गरेको व्याख्या संसारकै नमुना छ। हिजो बेलायत, भारत, अमेरिका, पाकिस्तानका नजिर हामीले पढ्थ्यौं। अब बेलायतले नेपालको नजिर पढ्दैछ। विश्वका अरु देशले यसलाई नमुना बनाउँछन्।’
संविधानको अन्तिम व्याख्याको अधिकार अदालतलाई दिइएको बताउँदै उक्त फैसलाको विरोध गर्नु गलत भएको उनले बताए। जनताले बनाएको संविधानमा उल्लेखित कुरा सार्वजनिक ओहदामा रहेकाहरुले मान्नुपर्ने संवैधानिक दायित्व भएको उल्लेख उनले गरेका छन्।
उनले भने, ‘अदालतले गरेको फैसलालाई हियाउने? यसलाई गिज्याउने? संवैधानिकता नैतिकता कता हरायो? देशको ढुकुटी खाने सार्वजनिक पद धारण गरेको व्यक्तिले संवैधानिक दायित्व मान्नुपर्छ।’
उनले फैसलाको विरोध गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षलाई संविधानको धारा १२६ र १२८ पढ्न आग्रह गरे। उनले भने, ‘संविधानको धारा १२६ र १२८ पढेको छ कि छैन? विरोध गर्ने ओलीले म मान्छु भनेर सहीछाप गरेको छ कि छैन? अन्तिम व्याख्या गर्ने अधिकार अदालतलाई दिने भनेको छ कि छैन? जनतालाई झुक्याउने?’
संविधानको अन्तिम व्याख्याता अदालत भएकाले त्यसलाई मान्नुपर्नेतर्फ उनले सचेत गराए। ‘अदालतले गरेको निर्णय सबैले मान्नुपर्छ। ऐरेले पनि मान्नुपर्छ, जैरैले मान्नुपर्छ। प्रधानमन्त्रीले पनि मान्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।