काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव) प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। आफ्नो पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको विषयमा छलफल गर्न विप्लव बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री देउवालाई भेट्न विप्लवसहित नेकपा सचिवालय सदस्य धमेन्द्र बास्तोला पनि बालुवाटार पुगेका छन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग ३ बुँदे सम्झौता गरेर विप्लव नेतृत्वको नेकपा 'भूमिगत' गतिविधि त्यागेर 'खुला' राजनीतिमा आएको थियो।
गत फागुन २१ गते भएको ३ बुँदे सहमतिअनुसार आफ्ना नेता तथा कार्यकर्तालाई लगाइएको मुद्दा फिर्ता नभएको र थुनामा रहेका नेता कार्यकर्कर्ताको रिहाइ समेत नभएको विप्लव नेकपाको भनाइ छ।
मुद्दा फिर्ता र नेता कार्यकर्ताको रिहाइको विषयमा छलफल गर्न विप्लवले पछिल्लो समय विभिन्न नेताहरुसँग भेटवार्ता गर्दै आएका छन्।
विप्लवले निर्वतमान प्रधानमन्त्री ओलीलाई समेत भेटेर ३ बुँदे सहमती पालना गर्न कन्जुस्याइँ भएको भन्दै गुनासो गरेका थिए।
विप्लवले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायत नेताहरुसँग भेटवार्ता गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।