काठमाडौं– नेकपा एमालेको माधवकुमार नेपाल पक्षले २२ जना सांसद्हरुलाई केपी ओलीद्वारा सोधिएको स्पष्टीकरणलाई एकतामा भाँजो हाल्ने काम भनेको छ।
बुधबार नयाँ बानेश्वरमा बसेको सो पक्षको स्थायी कमिटी सदस्यहरुको 'बैठक'पछि पत्रकारहरुसँग बोल्दै स्थायी कमिटी सदस्य रघुजी पन्तले स्पष्टीकरण सोध्नुको अर्थ नभएको बताए।
‘स्पष्टीकरण त सोध्नुपर्ने विषय नै होइन। जब एकता वार्ता चलिरहेको छ। उहाँहरुले १० बुँदेलाई हामीले केन्द्रीय कमिटीबाट स्वीकार गर्यौं भनेर भनिसकेको अवस्थामा फेरि स्पष्टीकरण सोधिराख्न खोज्नु भनेको यो एकता प्रक्रियामा भाँजो हाल्ने काम हो’, उनले भने।
पन्तले कुनै पनि प्रकारको उत्तेजक कामकारबाहीले एकतालाई असर पुर्याउने भएकाले एकतामा नराम्रो प्रभाव पार्ने काम कतैबाट पनि हुनुहुँदैन भन्ने आफूहरुको मान्यता भएको बताए। ‘अदालतको फैसलाले प्रष्ट रुपमा ७६ (५) को निर्णय गर्ने अवस्थामा सांसद्हरुलाई विवेक प्रयोग गर्ने अधिकार दिइसकेपछि त्यही विषयलाई अरु निहुँ झिकेर स्पष्टीकरण सोध्नु त राम्रो कुरा भएन। अदालतको फैसला अनुरुप भएन’, उनले भने।
नेपाल पक्षका अर्का नेता गोकर्ण विष्टले स्पष्टीकरणले एकता प्रक्रियालाई धमिल्याउने बताए। ‘संविधानको धारा ७६ (५) लाई प्रयोग गर्ने सन्दर्भमा जे सर्वोच्चले फैसला गरेको छ, त्यसबाट प्राप्त अधिकारलाई प्रयोग गरेको सन्दर्भमा २२ जना माननीय सदस्यहरुमाथि जुन ढंगले स्पष्टीकरण सोध्ने काम गरिएको छ। त्यसले एकताको वातावरणलाई धमिल्याउने काम गर्छ’, उनले भने।
उनले पार्टी एकतामा देखा परेको सम्भावना र वातावरणलाई कमजोर बनाउने, बिथोल्ने र धमिल्याउने काम कतैबाट पनि हुनु शोभनीय नभएको बताए। त्यस्तो गतिविधिले पार्टीलाई एकताबद्ध गर्ने सन्दर्भमा सहयोग नपुर्याउने उनको भनाइ छ। ‘यसतर्फ समेत पनि गम्भीरताका साथ पार्टी अध्यक्ष सहितका कमरेडहरुको ध्यान जान जरुरी छ भन्ने विषयमा यो छलफलले ध्यानाकर्षण गरेको छ’, उनले भने।
उनले सुझबुझपूर्ण ढंगले र पार्टीको दूरगामी एकतालाई अनुकूल प्रभाव पार्ने खालका अभिव्यक्ति र व्यवहारहरुले मात्रै पार्टीलाई एकजुट बनाउन सकिने बताए।
नेपाल पक्षको आजको बैठकले पछिल्लो सन्दर्भमा एक प्रस्ताव पनि पारित गरेको छ। प्रस्तावमा भनिएको छ- ‘एकता वार्ता चलिरहेको र दश बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराजुलुस गर्ने एवं पुत्ला जलाउने साथै संविधान र सर्वोच्च अदालतको फैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसद्हरुलाई आतंकित पार्ने र उनीहरु विरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्छ। यस्ता गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अघि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको ध्यानाकर्षण गर्दछ।'
गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेकै २२ सांसद्ले विश्वासको मत दिएपछि ओली आक्रोशित भएका छन्। सो पक्षको साउन ४ गतेदेखि जारी केन्द्रीय कमिटीको बैठकबाट २२ जनालाई स्पष्टीकरण सोधिएको छ। ‘पार्टीका कतिपय साथीहरुले, सांसद्हरुले पार्टी निर्णयको अवज्ञा गर्दै फ्लोर क्रस गर्ने र शेरबहादुर देउवालाई विश्वासको मत दिने जुन काम गर्नुभयो। पार्टी अनुशासनको दृष्टिले, कम्युनिस्ट आन्दोलनको आदर्शको दृष्टिले, जनताको भावनाको दृष्टिले सबै दृष्टिले सर्वथा अनुचित, अनुशासनहीन र गलत काम भएकोले ती २२ जना सांसद्हरुसँग स्पष्टीकरण माग गर्ने निर्णय भएको छ’, ४ गतेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भनेका थिए।
तर २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको झन्डै ४८ घण्टापछि आज (बुधबार) मात्रै उनीहरुलाई स्पष्टीकरण पत्र पठाइएको हो। पत्र पाएको २४ घण्टाभित्र जवाफ दिनुपर्ने ज्ञवालीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।