काठमाडौं– नेकपा (एमाले)का स्थायी कमिटी सदस्य गोकर्ण विष्टले अध्यक्ष केपी शर्मा ओली सोधेको स्पष्टीकरणका कारण पार्टी एकताको प्रयासलाई कमजोर बनाएको बताएका छन्।
बुधबार बानेश्वरमा बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै विष्टले सर्वाेच्च अदालतले गरेको फैसलाको प्रयोग गर्दा स्पष्टीकरण सोधिनुले पार्टीको एकतालाई धमिल्याउने काम गरेको बताए।
'कार्यदलले तयार परेकाे १० बुँदे सहमतिका आधारमा पार्टी एकतालाई सम्पन्न गर्ने सन्दर्भमा छलफल केन्द्रित रह्यो। हामी एकतालाई प्राथमिकता दिँदै पार्टी पंक्तिलाई यसतर्फ उन्मुख गर्नेगरी क्रियाशी छाैं निरन्तर। यस्तो अवस्थामा जुन ढंगले स्पष्टीकरण सोध्ने काम भएको छ। यसले एकताको वातावरणलाई धुमिल्याउने काम गर्छ। यो काम कतैबाट हुनु शोभनीय हुँदैन', विष्टले भने।
पार्टीलाई एकतावद्ध बनाउने कामम यसले सहयोग नपुर्याउने भन्दै विष्टले यसमा अध्यक्ष केपी शर्मा ओलीसहित सबैको ध्यान जरुरी रहेको बताए। उनले बैठकले यीनै विषयमा ध्यानाकर्षण भएको जानकारी दिए।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए। यसमा १४ जना नेपाल पक्षमा रहेका र ८ जना अध्यक्ष ओली पक्षमा रहेका थिए।
उनीहरूले ओलीले सोधेको स्पष्टीकरण पत्र बुधबार प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।