काठमाडौं–नेकपा एमालको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। सोमबारदेखि जारी केन्द्रीय कमिटी बैठक बुधबार अपराह्न तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको हो। तीनदिन यता जारी बैठकले एमालेमा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलका १० बुँदे सुझाव अनुमोदन गरेको छ।
पहिलो दिनको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो। बैठकले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको पत्र बुधबार नेपाल पक्षका सांसदले पाएका छन्।
मंगलबारको बैठकमा प्रदेश संयोजकहरुले पार्टीको अवस्था तथा कारबाहीले पार्ने असरबारे आफ्नो धारणा राखेका थिए। केन्द्रीय कमिटीको बैठकमा आ–आफ्नो प्रदेशको अवस्थाको बारेमा रिर्पोटिङ गर्दै प्रदेश अध्यक्षहरुले एमालेभित्र देखिएको अन्यौलताले पार्टीलाई अगाडि बढाउन समस्या पर्ने भन्दै छिट्टै समाधान गरी लयमा फर्काउनुपर्ने बताएका हुन्।
मंगलबारको बैठकमा सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापा, कर्णालीका अध्यक्ष गोरख बोगटी, लुम्बिनीका अध्यक्ष लिला गिरी, गण्डकीका अध्यक्ष जगत विश्वकर्मा, बागमतीका अध्यक्ष आनन्द पोखरेल, प्रदेश २ का अध्यक्ष ज्वालाकुमारी साह र प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले आ–आफ्नो प्रदेशको संगठनात्मक अवस्था, राजनीतिक शक्ति सन्तुलनको अवस्था र पार्टी गतिविधिको सम्बन्धमा रिर्पोटिङ गरेका थिए।
समानान्तर पार्टी गतिविधि सञ्चालन गरिरहेको माधव नेपाल पक्ष भने बैठकमा सहभागी भएको छैन। नेपाल पक्षको स्थायी कमिटी बैठक आजै बानेश्वरमा बसेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।