काठमाडौं– फुटको बिन्दुमा पुगेको नेकपा एमालेको एकता जोगाउन भन्दै सक्रिय भएका दोस्रो पुस्ताका नेताहरुको प्रयत्न संकटमा परेका बेला तेस्रो पुस्ताका नेताहरुले छलफल अघि बढाएका छन्।
दोस्रो तहका नेताहरुले एमाले एकताका लागि भन्दै तयार पारेको १० बुँदे सहमतिअनुसार पार्टी अघि बढ्न नसकेपछि तेस्रो पुस्ताका नेताहरुले एमाले जोगाउने भन्दै पहल सुरु गरेका हुन्।
दुवैपक्षका ६–६ जना सांसद छलफलका लागि सिंहदरबारमा जम्मा भएका छन्। वरिष्ठ नेता माधवकुमार पक्षमा रहेका र गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा मतदानमा सहभागी नभइ बाहिरिएका एमाले सांसद झपट रावलले आफूहरुले एकताका लागि प्रयास सुरु गरेको बताए। ‘दुवैपक्षका ६–६ जना सांसदहरु छलफलमा जुटेका छौं’, रावलले भने।
छलफलमा नेपाल पक्षका सांसद यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई वान्तवा, नारायण प्रसाद खतिवडा, राजबहादुर बुढा लगायत छन्।
यस्तै, ओली पक्षबाट सांसदहरु कृष्णप्रसाद दाहाल, सूर्य पाठक लगायत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।