काठमाडौं– नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू अबको रणनीति तय गर्न छलफलमा जुटेका छन्। स्थायी कमिटीका सदस्यहरूको बैठक केही बेरअघि सुरु भएको नेता नेपालको सचिवालयले जानकारी दिएको छ।
मंगलबार साँझ बसेका नेपाल पक्षका सांसदहरूको बैठकले बुधबारका लागि स्थायी कमिटी सदस्यहरूको बैठक तय गरेको थियो। मंगलबारको बैठकमा कानुनी प्रक्रिया पुग्छ भने अलग पार्टी बनाएरै अघि बढ्नुपर्ने बारे छलफल भएको थियो।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे भने मंगलबार छलफल नभएको नेताहरूले बताएका थिए। उनीहरूले प्रतिपक्ष दल भएकाले सरकारमा सहभागी हुने प्रश्नै नउठ्ने बैठकपछि बताएका थिए।
गत आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ जना सांसदले विश्वासको मत दिएका थिए। उनीहरूमाथि अनुशासनको कारबाही गर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन्। अध्यक्ष ओलीले बोलाएको एमालेको केन्द्रीय कमिटी बैठक बुधबार पनि बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।