काठमाडौं- नेकपा (एमाले)का नेता रघुजी पन्तले कार्यकर्तालाई सडकमा बाँदर बन्न होइन असल मान्छे बन्न सिकाउनुपर्ने टिप्पणी गरेका छन्। मंगलबार अध्यक्ष केपी शर्मा ओली समूहका युवाहरूले बाँदरको भेषधारण गरेर गरेको सडक प्रदर्शनलाई लक्षित गर्दै उनले भक्तहरू नभइ कार्यकर्ताहरूको निर्माण गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै पन्तले साइबर सेना र आईटी सेना निर्माण गरेर राजनीतिक दलले सेना शब्दको दुरुपयोग गर्न नहुने पनि बताएका छन्।
'कार्यकर्तालाई सडकमा बाँदर बन्न हैन असल मान्छे बन्न सिकाउँ।असल मान्छे नै असल कार्यकर्ता बन्न सक्छन्।आलोचनात्मक चेतना र लागेको कुरा निर्धक्क बोल्न सक्ने कार्यकर्ता पार्टीको ठूलो सम्पत्ति हुन्', पन्तले लेखेका छन्, 'तर, अचेल नेताहरूलाई आलोचना गर्ने कार्यकर्ता होइन प्रशंसा गर्ने भक्तजन मात्र मन पर्छ। भक्तहरू हैन कार्यकर्ताहरूको निर्माण गरौं। साइबर सेना र आईटी सेना हैन, प्रतिभाशाली र सिर्जनशील साइबर तथा आईटी इन्जिनियरहरू उत्पादन हुने वातावरणको निर्माण गरौं। दिएको नारा भट्याउने हैन हामीलाई प्रश्न गर्नसक्ने सचेत, सक्षम र इमान्दार कार्यकर्ता र नागरिकहरू आजको आवश्यकता हो।'
पन्तले मंगलबार नै बनाइएको आईटी सेनाबारे पनि आफ्नो धारणा राखेका छन्। उनले साइबर सेनाको काम केपी ओली विरोधीहरूको मानमर्दन र चरित्रहत्या गर्नु, झुठा लान्छना लगाउनु रहेको भन्दै आईटी सेनाले गर्ने पनि यस्तै काम त होला भनेर संशय व्यक्त गरेका छन्।
'यस्ता काम गराएर असल कार्यकर्ता जन्मदैनन्। विचार, सिद्धान्त, नीति अध्ययन गरेर तिनका आधारमा माधव समूहको आलोचना गर भनेर सिकाउनुस बरू, तिनने ठीक आलोचना गरेछन् भने स्वीकारौंला', पन्तले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।