काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले विकास र समृद्धिको आकांक्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबैको एकतावद्ध पहलकदमी आवश्यक रहेको बताएका छन्।
बुधबार मुस्लिम धर्मावलम्बीको ठूलो चाड बकर इद (इदुल जोहा) को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीहरुमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीहरुबाट हमला गर्ने काम भएको बताएका छन्।
समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थालेको भएपनि प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भएको प्रचण्डको भनाइ छ।
यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रता जगाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास लिएको प्रचण्डले जनाएका छन्।
वर्षौंदेखि नेपाली समाजले आफ्नो छुट्टै पहिचानका रुपमा अभ्यास गर्दै आएको सामाजिक व्यवस्था बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक भएको भन्दै उनले नेपालीहरुको यही विशेषताका कारण नेपाल एक अविभाज्य र सार्वभौम राष्ट्र बन्न सफल भएको उल्लेख गरेका छन्। नेपाली समाजको यही विशेषता र एकताको बलमा नेपालमा ठूलाठूला राजनैतिक र सामाजिक परिवर्तनहरु भएको प्रचण्डको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।