काठमाडाैं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय नेताको बैठक बोलाएका छन्।
क्रियाशील सदस्यता विवाद र आफ्नो पक्षबाट मन्त्रीमा पठाउने नामका विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ। अनामनगरस्थित पौडेलको सम्पर्क कार्यालयमा बुधबार बैठक बस्ने उनीनिकट एक नेताले जानकारी दिए।
कांग्रेसमा क्रियाशील सदस्यता विवाद थप बल्झिँदै गएको छ। नवीकरण र नयाँ क्रियाशील सदस्यको लागि नाम ‘इन्ट्री’ रोक्ने निर्णय पार्टीले गरेको छ। तर, इन्ट्री रोके पनि संस्थापनपक्षले अहिले पनि नाम थपिरहेको पौडेलपक्षले जनाएको छ।
दुई जिल्लाको विवाद रहेको भनिए पनि उक्त संख्याभन्दा बढी जिल्लामा समाधान निकाल्न नसकिरहेको बताइएको छ। क्रियाशील सदस्यता विवादमा समाधान निकाल्न नसकेसँगै तल्लो तहको अधिवेशन प्रभावित हुने भएको छ। तल्लो तहको अधिवेशनको नयाँ मिति तोकिएको छैन।
पौडेलपक्षले उपप्रधानसहित आफ्नो पक्षलाई मन्त्रीमण्डलमा सहभागी गराउन माग गरेको छ। पौडेलपक्षबाट मन्त्रीमा दिलेन्द्रप्रसाद बडुको नाममा करिब टुंगो लागेको बताइएको छ। पौडेलपक्षबाट दुई जनाले मन्त्रिपरिषद्मा सहभागी हुने भएका छन्। उक्त समूहबाट डा. मिनेन्द्र रिजालको नाम पनि चर्चामा छ। मधेसबाट तेजुलाल चौधरीको नाम चर्चामा आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।