फाइल तस्वीर
काठमाडौं- जनता समाजवादी पार्टी(जसपा) महन्थ ठाकुर–राजेन्द्र महतोपक्षका नेता शरतसिंह भण्डारीले पार्टीले उठाएका माग र मुद्दा सम्बोधन भए मात्रै सरकारमा जाने बताएका छन्।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको माग-मुद्दा सम्बोधन गर्ने आश्वासन दिएपछि सरकारमा गएको बताउँदै भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूहरुका माग सम्बोधन गर्ने सुश्चित गरे मात्रै सरकारमा जाने बताए।
जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराईपक्ष सरकारमा जाने निश्चित भइसकेपनि निर्वाचन आयोगले दलको आधिकारिकता टुंगो नलगाएकाले ढिलाइ गरेका छन्। तर महन्थ–राजेन्द्रपक्ष भने आफूहरुले उठाएका माग र मुद्दा सम्बोधन भए मात्रै सरकारमा जाने भएको छ।
‘हामी ओली सरकारमा यत्तिकै लहडमा गएका होइनौं। जसपाले उठाएका कतिपय माग-मुद्दा सम्बोधन गर्नुभयो। कतिपय प्रक्रियामै भएको अवस्थामा सरकारमा गएका हौं,’ नेपाल लाइभसँग कुरा गर्दै भण्डारीले भने, ‘देउवा सरकारमा जानको लागि जसपा कार्यकारिणी समितिले बैठक बसेर मुद्दा तय गरेको छ। ती मुद्दा सम्बोधन हुने सुनिश्चित भए मात्रै सरकारमा जान्छौं नभए सरकार बाहिरै बसेर समर्थन गर्छौ।’
जसपा कार्यकारिणी समितिको बैठकले रेशम चौधरीको रिहाइ, विभिन्न आन्दोलनमा लागेका मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता विधेयक, संविधान संशोधनसम्बन्धी विषयमा प्रक्रिया अघि बढाउनु पर्ने माग राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।