काठमाडौं- जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले संसदीय दलको विधान पारित गरेको छ। मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले विधान पारित गरेको हो।
‘आजको संसदीय दलको बैठकमा प्रस्तुत संघीय संसदीय दलको विधान-२०७८ को मस्यौदा प्रस्तुत भई व्यापक छलफल भयो’, बैठकको निर्णयमा भनिएको छ, ‘छलफलको क्रममा माननीय सदस्यहरुबाट आएका सुझावहरु समेतलाई समावेश गरी संघीय संसदीय दलको विधान २०७८ पारित गर्ने निर्णय गरियो।’
प्राप्त सुझावहरुलाई समावेश गर्न रामसराय प्रसाद यादव र मोहम्मद इश्तियाक राईलाई जिम्मेवारी पनि दिइएको छ। साथै विधानलाई अनुमोदनका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा पठाउने निर्णय पनि गरिएको छ।
जसपाको संघीय संसदीय दलको विधान केन्द्रीय कार्यकारिणी समितिबाट पारित हुनुपर्ने पार्टी विधानमा उल्लेख छ। यसअघि संसदीय दलमा कमजोर देखिएको यादव पक्ष बलियो भएसँगै विधानको प्रक्रिया अगाडि बढाएको हो। कार्यकारिणी समितिमा पनि यो समूह स्पष्ट बहुमतमा छ। पार्टीको महन्थ ठाकुर पक्षले भने यसअघि नै राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो। तर, विधान नै तयार नभई संसदीय दलको नेता चयन हुन नसक्ने भन्दै यादव पक्षले विरोध जनाउँदै आएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।