काठमाडौं- नेपाली कांग्रेसमा “डिजिटल भोटिङ” को प्रविधि सुनिश्चित गरिएको छ। केन्द्रीय समितिले आवश्यक ठहर गर्दा सूचना, सञ्चार तथा प्रचार विभाग त्यसका लागि तयारी अवस्थामा रहेको विभागले जनाएको छ।
असार २४ र २५ गते भौतिक र भर्चुअल दुबै प्रक्रियाबाट सम्पन्न नेपाली कांग्रेस, केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको तेस्रो पूर्ण बैठकले पार्टीको १४ औं महाधिवेशनको वैचारिक प्रचार प्रारम्भ गर्ने लगायतका निर्णय गरेको विभागले विज्ञप्ति जारी गर्दै जनाएको छ।
‘प्रविधि मैत्री अभियान’ क्रममा पार्टीको वेबसाईटलाई आधुनिकीकरण र कृयाशिल सदस्यताको अभिलेखिकरण (डाटा इन्ट्री) लगायतका काम गरिएको विभागले जनाएको छ।
कोरोना महामारी न्यून भएर पार्टी महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाकाबीच विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको जनाएको छ।
केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शून्यबाट शुरु गर्नु नपर्ने गरि ‘डिजिटल भोटिङ’विकास गरिएको र प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ।
७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधि मार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धि सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको विभागले जनाएको छ।
‘डिजिटल भोटिङ’ को नमूना प्रदर्शनीको आन्तरिक कार्य योजना समेत बैठकले तय गरेको छ भने जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको विभागले जनाएको छ।
प्रविधि मैत्री अभियान अन्तर्गतको थप प्रगति बारे पार्टी केन्द्रीय समितिमा प्रतिवेदन पठाउने र केन्द्रीय समितिको निर्देशन अनुरुप प्रविधिको अन्य व्यवस्थापकीय प्रबन्ध निश्चित गर्ने विभागले जनाएको छ।
पार्टीको १४ औं महाधिवेशनको प्रचारलाई विगत भन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने निर्णय बैठकले गरेको छ। विषय केन्द्रित प्रचारलाई गहन बनाउन केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग आवश्यक समन्वय विभागले जनाएको छ।
विभागले विभिन्न उपसमितिहरुलाई थप विस्तारित र व्यवस्थित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।