काठमाडौं– नेकपा एमालेले आजको केन्द्रीय कमिटी बैठकपछि मात्र माधवकुमार नेपाल पक्षका सांसदहरूलाई स्पष्टीकरण पत्र पठाउने भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधामन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एमालेले आज पत्र पठाउन लागेको हो।
आज दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटीको बैठक सकिएपछि लिखित स्पष्टीकरण माग गरिको २४ घण्टे पत्र नेपालसहित २२ जनालाई पठाइने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।
‘सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी निर्णयविरुद्ध प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो’ कार्यालय सचिव तामाङले भने, ‘सोमबारकै बैठकको निरन्तरता भएकाले मंगबारको बैठक सकिएपछि लिखित रुपमा २२ सासंदलाई पत्र पठाउँछौ।’
पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएमा के गर्ने भन्ने विषयमा पार्टीले निर्णय गरेर अघि बढ्ने तामाङले बताए। उता, नेपाल पक्षका सासदहरु भने दिउँसो ४ बजे अर्याल होटल बानेश्वरमा छलफल गर्ने भएका छन्।
नेपालपक्षका सांसदहरू बसेर पार्टीभित्र विकसित भइरहेको घटनाक्रमका विषयमा छलफल गर्ने भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।