काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई नेकपाका नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ताका विषयमा प्रक्रियामै रहेका बेला सरकारबाट बाहिरिनु परेपछि सहमति पालना गर्न नसकिएको बताएका छन्।
अध्यक्ष ओलीलाई भेट्न मंगलबार उनकै निवास बालकोट पुगेका विप्लवसहित नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोलासँगको भेटमा ओलीले यस्तो बताएका हुन्।
‘सरकार र तपाईंहरूबीच सहमति कार्यान्वयन गर्ने सन्दर्भमा बन्दी रिहा र मुद्दा फिर्ताका विषय प्रक्रियामै थियो’ भेटमा सहभागी एक नेताले ओलीलाई उदृत गर्दै भने, ‘सहमति कार्यान्वयनकै चरणमा भएको बेलामा प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने अवस्था आयो। मैले के गराैं?’
आफ्नो नेतृत्वको सरकार हुँदा नेकपासँग भएको सहमति पालना गर्न प्रतिवद्ध भएरै लाग्दालाग्दै पूरा गर्न नसकिएको विषयमा समेत ओलीले प्रष्ट पारेका थिए। ओली नेतृत्वको सरकारसँग विप्लव नेतृत्वको नेकपाले गत फागुन २१ गते राष्ट्रिय सभा गृहमा तीन बुँदे सहमति गरेको थियो।
सहमति भएको अन्तिम बुँदा नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ता अझै हुन सकेको छैन। नेकपाका एक सयको हाराहारीमा नेता कार्यकर्ता रिहा हुँन बाँकी छन्। आफ्ना नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ताका विषयमा विप्लवले पछिल्लो समय विभिन्न दलका नेताहरूलाई भेटेर आग्रह गर्न थालेका छन्।
यसअघि उनले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत नेताहरूलाई भेटिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।