काठमाडौं– नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले स्थानीयतह स्वायत्त हुनुपर्ने बताएका छन्। सोमबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग भएको भेटका क्रममा अध्यक्ष बिजुक्छेँले आफ्नो क्षेत्रको विकासका लागि प्रदेश सरकार स्पष्ट योजनासहित अघि बढ्नुपर्ने बताए।
उनले स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने पक्षमा नेमकिपाले निरन्तर जोड दिँदै आएको बताउँदै स्थानीय तहले नयाँ नयाँ स्रोतको खोजी गर्नुपर्नेमा समेत जोड दिए। प्रदेश र स्थानीय तहले केन्द्रको मुख नताकी आफ्नै भरमा विकास गर्नुपर्ने उनको भनाइ थियो।
भेटका अवसरमा अध्यक्ष बिजुक्छेंले भ्रष्टाचार रोक्न सके धेरै काम हुने र जनताले पनि सुख पाउने बताए।
सो अवसरमा मुख्यमन्त्री पौडेलले आफूसँग स्थानीय तहमा लामो समयसम्म काम गरेको अनुभव भएको बताउँदै आफू स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने पक्षमा रहेको बताए।
उनले भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालमा प्रदेश सरकारको ध्यान नपुगेको स्वीकार गर्दै स्वास्थ्य क्षेत्रमा भक्तपुर नपालाई सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।